चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालनमा ।
कोशी आवाज २०८२ असोज ९ गते बिहिवार
विराटनगर,। नजिकिँदै गरेको विजया दशमी, शुभ–दीपावली, नेपाल संवत ११४६ र छठ पर्वलाई लक्षित गर्दै मोरङ जिल्लामा यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको छ।
मोरङ जिल्ला प्रशासन कार्यालयको समन्वयमा यातायात व्यवस्था कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, उद्योग वाणिज्य संघ लगायतका निकायहरूको सक्रियतामा विराटनगर बसपार्कसहित जिल्लाका विभिन्न १२ स्थानमा आजदेखि यात्रु सहायता कक्ष सञ्चालनमा आएको हो।
यस व्यवस्था मार्फत यात्रुहरूलाई सहज, सुरक्षित र मर्यादित यात्रा गर्न सहयोग पुर्याइनेछ। सहायता कक्षमार्फत आवश्यक जानकारी उपलब्ध गराउने, यात्रुहरूलाई गन्तव्यअनुसार बस चढ्न सहयोग गर्ने, टिकटको अनियमितता नियन्त्रण गर्ने, भिड व्यवस्थापन गर्ने र आकस्मिक अवस्थाको तत्काल सहजीकरण गर्ने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रशासनका अनुसार चाडपर्वका समयमा यात्रुको अत्यधिक चाप हुने भएकाले दुर्घटना न्यूनीकरण, सुरक्षामा कडाइ र यात्रुलाई सहजता दिने उद्देश्यले सहायता कक्ष सञ्चालन गरिएको हो।