रास्वपामा रिक्त पदाधिकारी पद पूर्ति गर्ने तयारी, कुमार बेन र सुनिल लम्सालको नाम चर्चामा ।
कोशी आवाज २०८३ असोज २० गते मंगलबार ।
बिराटनगर । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशन सम्पन्न भएको केही महिनापछि बाँकी रहेका प्रमुख पदाधिकारी पदहरू पूर्ति गर्ने तयारी गरेको छ।
पार्टीभित्रको आन्तरिक छलफल र सहमतिपछि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका मुख्य सल्लाहकार कुमार बेनलाई उपसभापति तथा पूर्वाधार विकास मन्त्रीको जिम्मेवारीमा रहेका सुनिल लम्साललाई महामन्त्री बनाउने तयारी भइरहेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको सिफारिस तथा सहमतिमा सभापति रवि लामिछानेले प्रस्तावित मनोनयन प्रक्रिया अघि बढाएका हुन्।
गत असारमा चितवनको भरतपुरमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनबाट रवि लामिछाने सभापति, डा. स्वर्णिम वाग्ले र सोविता गौतम उपसभापति तथा विपिन आचार्य महामन्त्री निर्वाचित भएका थिए।
रास्वपाको संशोधित विधानअनुसार पार्टीको केन्द्रीय समितिमा १५८ सदस्य तथा १९ सदस्यीय पदाधिकारी संरचना रहने व्यवस्था छ। विधानले सभापतिलाई केन्द्रीय सदस्यहरूमध्येबाट निश्चित पदाधिकारी मनोनयन गर्ने अधिकार दिएको छ।
सभापतिले मनोनयन गर्ने पदाधिकारीतर्फ एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष रहने व्यवस्था रहेको बताइएको छ।
यसअघि वरिष्ठ नेता बालेन्द्र शाहको सिफारिसमा महामन्त्री पदका लागि भूपदेव शाहको नाममा आन्तरिक सहमति भएको बताइए पनि पछिल्लो छलफलमा सहमति नजुटेपछि उनको नाममा प्रक्रिया अघि नबढेको स्रोतको दाबी छ।
त्यसको विकल्पमा पूर्वाधार विकास मन्त्रीसमेत रहेका सुनिल लम्साललाई महामन्त्री बनाउने तयारी भइरहेको बताइएको छ। यद्यपि, प्रस्तावित नामले औपचारिकता पाउन भने पार्टीको विधानअनुसार आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ।
रास्वपाको विधानको चौथो संशोधनअनुसार सभापतिले केन्द्रीय सदस्यहरूमध्येबाट रिक्त पदाधिकारीका लागि नाम प्रस्ताव गर्ने र केन्द्रीय समिति बैठकबाट अनुमोदन भएपछि मात्रै मनोनयनले औपचारिकता पाउने व्यवस्था रहेको छ।
यसअनुसार कुमार बेन र सुनिल लम्सालको नाममा अन्तिम निर्णय हुन बाँकी रहेको रास्वपाका सम्बन्धित निकायबाट औपचारिक निर्णय भएपछि मात्रै उनीहरूको पदाधिकारी नियुक्ति निश्चित हुने देखिन्छ।
रास्वपाको प्रस्तावित १९ सदस्यीय पदाधिकारी संरचनामा सभापति, वरिष्ठ नेता, उपसभापति, महामन्त्री, सहमहामन्त्री, प्रवक्ता, सहप्रवक्ता, कोषाध्यक्ष र सहकोषाध्यक्ष रहने व्यवस्था छ।