गृहमन्त्री र संयुक्त हिन्दू मोर्चाबीच मौखिक सहमति, आन्दोलनका कार्यक्रम फिर्ता ।
कोशी आवाज २०८३ बैशाख १७ गते आइतबार ।
बिराटनगर । सुनसरी घटनापछि मधेशका विभिन्न जिल्लामा चर्किएको विरोध प्रदर्शन साम्य पार्न गृहमन्त्री सुधन गुरुङ र संयुक्त हिन्दू मोर्चाबीच मौखिक सहमति भएको छ। सहमतिसँगै आन्दोलनरत समूहहरूले हालका लागि सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको घोषणा गरेका छन्।
शनिबार गृहमन्त्रीसमक्ष १३ बुँदे मागपत्र बुझाएको मोर्चाले आइतबार भएको लामो वार्तापछि केही मागमा स्पष्टता र परिमार्जन गर्दै सहमति भएको जनाएको छ। सरकारले संवैधानिक, व्यवहारिक तथा सामाजिक रूपमा सम्बोधन गर्न सकिने मागहरू पूरा गर्ने आश्वासन दिएको छ।
यद्यपि, नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने मोर्चाको मुख्य मागमा भने कुनै लिखित सहमति नभएको प्रतिनिधिसभा सदस्य मनिष झाले जानकारी दिए। उनका अनुसार उक्त विषयमा थप छलफल हुन सक्ने सहमति भएको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले आन्दोलनरत पक्षका जायज मागबारे स्पष्ट छलफल भएपछि वार्ता सफल भएको र त्यसकै आधारमा आन्दोलनका कार्यक्रम फिर्ता लिइएको बताए।
हिन्दू सम्राट सेनाका केन्द्रीय उपाध्यक्ष कृष्ण सनातनीले वार्ताका क्रममा १३ बुँदे मागमा आवश्यक संशोधन गरी सहमति जुटाइएको बताए। उनले आन्दोलनलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्न खोजिएको आरोप लगाउँदै गृहमन्त्रीले भविष्यमा कुनै पनि हिन्दू धर्मावलम्बीले प्रहरीको गोली लागेर ज्यान गुमाउन नपर्ने वातावरण बनाउन प्रतिबद्धता व्यक्त गरेको दाबी गरे।