बिहारको बांकीपुर उपनिर्वाचनमा प्रशान्त किशोरको ऐतिहासिक जित, भाजपा उम्मेदवार पराजित ।
कोशी आवाज २०८३ श्रावण १८ गते सोमबार
बिराटनगर । भारतको बिहार राज्यस्थित बांकीपुर विधानसभा उपनिर्वाचनमा जन सुराज पार्टीका संस्थापक तथा चर्चित चुनावी रणनीतिकार प्रशान्त किशोर विजयी भएका छन्।
भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष नितिन नवीन राज्यसभामा निर्वाचित भएपछि रिक्त भएको उक्त सिटका लागि गत जुलाई ३० मा मतदान भएको थियो। निर्वाचनमा ३५ प्रतिशतभन्दा कम मत खसेको थियो, जसलाई लिएर विभिन्न राजनीतिक विश्लेषण र चर्चा भएका थिए।
मतगणनाका सबै ३२ चरण सम्पन्न भएपछि प्रशान्त किशोरले भाजपा उम्मेदवार नीरज कुमारलाई १९ हजार ३२४ मतान्तरले पराजित गरेका हुन्। किशोरले ६४ हजार १५१ मत प्राप्त गर्दा नीरज कुमारले ४४ हजार ८२७ मत प्राप्त गरेका छन्।
यस जितसँगै जन सुराज पार्टीले बिहारको राजनीतिमा महत्वपूर्ण उपस्थिति जनाएको विश्लेषण गरिएको छ।
यता, बिहारका मुख्यमन्त्री सम्राट चौधरीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रशान्त किशोरलाई बधाई दिएका छन्। उनले जनताको निर्णयको सम्मान गर्दै प्रशान्त किशोरलाई विजयी भएकोमा हार्दिक शुभकामना तथा बधाई व्यक्त गरेका छन्।