चिया पसलदेखि सार्वजनिक स्थानसम्म रंगेलीको भावी नेतृत्वबारे चर्चा, राप्रपाका अरबिन्द्र गुप्ताको नाम पनि अगाडि
कोशी आवाज २०८३ असोज २० गते मंग्लवार ।
बिराटनगर । स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा मोरङको रंगेली नगरपालिकामा सम्भावित उम्मेदवार तथा भावी नेतृत्वका अनुहारबारे राजनीतिक चर्चा सुरु भएको छ। चिया पसलदेखि सार्वजनिक स्थलसम्म हुने राजनीतिक बहसमा विभिन्न दलका सम्भावित उम्मेदवारसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा सक्रिय युवा नेताहरूको नामसमेत चर्चामा आउन थालेको छ।
यही चर्चाका क्रममा राप्रपा मोरङका का.वा. सचिव तथा सह–सचिवका रूपमा सक्रिय अरबिन्द्र गुप्ताको नाम पनि रंगेलीको सम्भावित राजनीतिक अनुहारका रूपमा स्थानीयस्तरमा उठ्न थालेको बताइएको छ।
गुप्ता वि.सं. २०६७ सालदेखि राप्रपामा आबद्ध भई हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा राजनीतिक अभियानमा सक्रिय रहँदै आएको बताउनुहुन्छ। उहाँ राजनीतिक गतिविधिसँगै सामाजिक तथा धार्मिक क्षेत्रमा समेत संलग्न रहनुभएको छ।
रंगेलीस्थित श्री गणेश मन्दिर निर्माणमा उहाँको भूमिका रहेको तथा तेतरी टोलस्थित भगवती मन्दिरको अध्यक्षका रूपमा समेत सामाजिक–धार्मिक गतिविधिमा संलग्न रहेको उहाँको परिचयमा उल्लेख छ। गरिब, विपन्न तथा दुःखी परिवारका विवाह, मृत्यु संस्कारलगायत सामाजिक तथा धार्मिक कार्यमा सहयोग गर्दै आएको पनि उहाँको दाबी छ।
राजनीतिक रूपमा गुप्ता रंगेलीमा प्रतिपक्षको भूमिकामा सक्रिय रहँदै जनसरोकारका विषयमा आफ्ना धारणा सार्वजनिक गर्दै आएको बताइन्छ। आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै दलहरू संगठन विस्तार तथा सम्भावित उम्मेदवारबारे आन्तरिक छलफलमा जुटिरहेका बेला उहाँको नाम पनि स्थानीय राजनीतिक वृत्तमा चर्चामा आउन थालेको हो।
व्यवसायिक रूपमा गुप्ता ए.के. गुप्ता प्याकेजिङ्ग, इटहरीमार्फत चामलसम्बन्धी उद्योग तथा विराटनगरमा चामल, दाल र दलहनको व्यापारमा संलग्न रहेको बताइएको छ। रंगेलीमा धान, गहुँ, मकै लगायत कृषि उपजको खरिद–बिक्री व्यवसायमा समेत उहाँ संलग्न हुनुहुन्छ।
यद्यपि, गुप्ताले आगामी स्थानीय निर्वाचनमा रंगेली नगर प्रमुख पदका लागि औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेको पुष्टि भएको छैन। हाल उनको नाम स्थानीय राजनीतिक बहस र सम्भावित नेतृत्वका रूपमा चर्चामा आएको विषयलाई मात्र राजनीतिक वृत्तमा हेरिएको छ।
रंगेली नगरपालिकाको आधिकारिक विवरणअनुसार नगरपालिका ९ वडामा विभाजित छ र हाल कार्यवाहक नगर प्रमुखको जिम्मेवारी भुमा पराजुलीले सम्हालिरहनुभएको छ।
स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न राजनीतिक दल तथा सम्भावित उम्मेदवारको सक्रियता बढ्ने क्रमसँगै रंगेलीको आगामी नेतृत्वबारे हुने बहस अझ तीव्र बन्ने देखिन्छ।