स्वीस बैंकमा नेपालीको रकमबारे अनुसन्धानमा सहयोग गर्न आग्रह । कोशी आवाज २०८२ चैत २५ गते बुधबार ।
विराटनगर । गृहमन्त्री सुधन गुरुङले नेपालीहरूले अवैध रूपमा आर्जन गरेको रकम स्वीस बैंकमा राखे/नराखेको विषयमा अनुसन्धान गर्न सहयोग गर्न नेपालस्थित स्वीट्जरल्यान्डका राजदूतसँग आग्रह गरेका छन्।
बुधबार गृह मन्त्रालयमा भएको भेटवार्ताका क्रममा गृहमन्त्री गुरुङले नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डेनिएल मैवलीसमक्ष यस्तो आग्रह गरेका हुन्। उनले भ्रष्टाचारलगायतका कसूरबाट आर्जित रकम स्वीस बैंकमा जम्मा गरिएको भए त्यसबारे अनुसन्धान गर्न दुवै देशबीच सहकार्य आवश्यक रहेको बताए।
रकम जम्मा भएको पुष्टि भएमा नेपाल सरकारको अनुरोधमा उक्त रकम फिर्ता ल्याउन पहल गरिदिन समेत उनले अनुरोध गरेका छन्। केही नेपाली व्यवसायीले गैरकानुनी रूपमा आर्जन गरेको रकम स्वीस बैंकमा राखेको चर्चा भइरहेका बेला गृहमन्त्रीले औपचारिक रूपमा सहयोग मागेका हुन्।
त्यसैगरी, गृहमन्त्री गुरुङले आप्रवासनसम्बन्धी विषयमा पनि दुई देशबीच सहकार्य गर्न प्रस्ताव गरेका छन्।
भेटका क्रममा राजदूत मैवलीले नेपालमा जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली सुदृढ बनाउन आवश्यक रहेको बताइन्। उनले यस क्षेत्रमा स्वीट्जरल्यान्ड सरकारले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन्।