एमाले कोशीको समानुपातिक उम्मेदवार छनोट प्रक्रियाप्रति कार्यकर्ताको असन्तुष्टि ।
कोशी आवाज २०८२ पुस ११ गते शुक्रबार ।
मोरङ । नेकपा (एमाले) कोशी प्रदेश कमिटीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको नाम टुंगो लगाएको छ। प्रदेश कमिटीको पदाधिकारी तथा सचिवालय बैठकले १०१ जना आकांक्षीहरूको नाम केन्द्रमा सिफारिस गरेको हो।
प्रदेश कमिटीले सिफारिस गरेको सूचीको पहिलो नम्बरमा पार्टीका पूर्वउपाध्यक्ष गुरु बरालको नाम रहेको छ। मोरङ जिल्ला कमिटीले पठाएको १६ जनाको सूचीका आधारमा प्रदेश कमिटीले बराल र रोमनाथ ओलीसहितका नाम केन्द्रमा सिफारिस गरेको प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए।
बौद्धिक नेताको छवि बनाएका बराललाई मोरङ जिल्ला कमिटीले नै समानुपातिकतर्फ सिफारिस गरेको थियो। तर उम्मेदवार सिफारिसको विषयलाई लिएर एमालेभित्र आन्तरिक विवाद र असन्तुष्टि चुलिएको छ। सिफारिस प्रक्रिया पारदर्शी नभएको र बन्द कोठाभित्र गोप्य रूपमा नाम छनोट गरिएको आरोप लगाउँदै नेता–कार्यकर्ताहरूले विरोध जनाएका छन्।
एमाले जिल्ला कमिटी सदस्य मुकेश बुढाथोकीले सार्वजनिक रूपमै आपत्ति जनाउँदै आम कार्यकर्ताको भावना र योगदानलाई बेवास्ता गरिएको बताएका छन्। उनले यो छनोट प्रक्रिया छल र अन्यायपूर्ण भएको आरोप लगाएका छन्।
पार्टीको यस निर्णयले तल्लो तहका कार्यकर्ताको अधिकार खोसिएको भन्दै असन्तुष्टि बढ्दै गएको छ।