नेकपा एमाले ११औँ राष्ट्रिय महाधिवेशनमा रङ्गेलीका पुराना कार्यकर्ता पाखा, नयाँलाई काखा गर्ने प्रवृत्ति देखिँदै ।

नेकपा एमाले ११औँ राष्ट्रिय महाधिवेशनमा रङ्गेलीका पुराना कार्यकर्ता पाखा, नयाँलाई काखा गर्ने प्रवृत्ति देखिँदै ।

कोशी आवाज २०८२ मङ्सिर २९ गते सोमबार ।

विराटनगर । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनलाई केन्द्रमा राखेर रंगेलीमा पार्टीभित्र असन्तुष्टि देखिन थालेको छ। महाधिवेशनका लागि उम्मेदवार छनोट प्रक्रियामा पुराना र पार्टीप्रति निष्ठावान् कार्यकर्तालाई पाखा लगाउँदै नयाँ अनुहारलाई काखा गर्ने प्रवृत्ति बढ्दै गएको स्थानीय नेताहरूको गुनासो छ।

स्थानीय तहमा दल फेर्दै–फेर्दै व्यक्तिगत स्वार्थका आधारमा राजनीतिमा सक्रिय दिलीप कुमार अग्रवाललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको खेमाबाट केन्द्रीय सदस्य पदको उम्मेदवार बनाइएको भन्दै आलोचना भइरहेको छ। यसैबीच, रंगेलीमा पार्टी संगठन मजबुत बनाउँदै एमालेको साख जोगाइरहेका पुराना र समर्पित कार्यकर्ता मनोज कुमार अग्रवाललाई कमजोर खेमामा पारिएको वा स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्न बाध्य पारिएको अवस्था देखिएको छ।

पार्टीभित्र देखिएको यस्तो प्रवृत्तिले एमालेको वैचारिक धरातलमै प्रश्न उठाएको छ। पुराना तथा योगदान गरेका कार्यकर्ताको उचित मूल्याङ्कन नगरी नयाँलाई मात्र अवसर दिँदा पार्टीको विचारधारा र संगठनात्मक एकता कमजोर हुने स्थानीय कार्यकर्ताहरूको चिन्ता छ।

स्थानीय कार्यकर्ताहरूले पार्टी नेतृत्वसँग न्यायोचित मूल्याङ्कन र योगदानका आधारमा जिम्मेवारी बाँडफाँड गर्न माग गरे पनि नेतृत्व पक्षबाट त्यसप्रति पर्याप्त ध्यान नदिइएको देखिएको छ।