ईश्वर पोखरेल प्यानलबाट महासचिवमा सुरेन्द्र पाण्डेको नाम तय ।

एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु

कोशी आवाज २०८२ मङ्सिर २९ गते सोमबार ।

बिराटनगर ।  नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता हुँदैछ। अध्यक्षका दावेदार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समूहले महासचिव पदमा सुरेन्द्र पाण्डेको नाम टुंगो लगाएको छ। त्यस्तै, उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराईलाई अघि बढाउने निर्णय भएको छ।

सचिव पदका लागि भने कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, गोकुल बाँस्कोटा, विनोद ढकाल, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र रचना खड्काको नाममा छलफल भएको छ।

निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०:३० बजेदेखि उम्मेदवारी दर्ता खुल्नेछ। महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन र दाबीविरोध प्रक्रिया बिहान ११ बजेसम्म सञ्चालन हुने छ भने ११ बजेसँगै उम्मेदवारी दर्ता सुरु हुनेछ।

एमालेले नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने निर्णय गरेको छ। निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले विद्युतीय मतदानको प्रयोग गर्ने जानकारी दिएका छन्।

त्यसैगरी, एमालेको केन्द्रीय कमिटीमा ४० वर्ष मुनिका युवाका लागि करिब पाँच प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ।