देउवा पक्षीय नेता शेखर कोइरालाको दाबीः बहुमत हाम्रो पक्षमा
कोशी आवाज २०८२ माघ २ गते शुक्रबार ।
मोरङ । देउवा पक्षीय नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आधिकारिकता आफ्नो पक्षमै रहेको दाबी गरेका छन्। शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित निर्वाचन आयोग पुगेका उनले सिंगो केन्द्रीय समिति नै आयोगमा उपस्थित भएको उल्लेख गर्दै बहुमत आफूहरूको पक्षमा रहेको बताएका हुन्।
निर्वाचन आयोगका पदाधिकारीहरूसँगको भेटमा नेता कोइरालाले, ‘सिंगो केन्द्रीय समिति र सदस्यहरू यहाँ छन्, केही चोइटिएर गएका होलान्,’ भन्दै पार्टीको आधिकारिक संरचना आफ्नो पक्षमै रहेको दाबी गरे। उनले विशेष महाधिवेशनका पक्षमा गरिएको हस्ताक्षर फिर्ताको निस्सा आफूहरूसँग रहेकोसमेत बताए।
‘विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर फिर्ता भएको निस्सा हामीसँग छ,’ कोइरालाले भने। साथै, उनले निर्वाचन आयोगलाई व्यक्तिभन्दा संस्थागत पक्ष हेरेर निर्णय गर्न आग्रह गरेका थिए।
यसै क्रममा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका मध्ये ८८५ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको दाबी गरे। उनका अनुसार असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका थिए।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग विधि र पद्धतिभन्दा बाहिर गएर कुनै निर्णय नहुने स्पष्ट पारेका छन्। आयोगका पदाधिकारीहरूसँग भएको छलफलमा कार्यवाहक सभापति खड्काले हालै सम्पन्न विशेष महाधिवेशन विधानअनुरूप नरहेको दाबी गरेका थिए।
हालै सम्पन्न विशेष महाधिवेशनले गगन थापाको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरी त्यसको विवरण बुधबार निर्वाचन आयोगमा अद्यावधिकका लागि निवेदन दिएको थियो।
कार्यवाहक सभापति खड्काले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीले पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको र सोको जानकारी निर्वाचन आयोगलाई पठाइसकिएको बताएका छन्।
उनका अनुसार तत्कालीन महामन्त्री गगन थापाको नेतृत्वमा रहेको क्रियाशील सदस्यता छानबिन समितिले केन्द्रीय समिति र सभापतिलाई सदस्यता सूची नबुझाएकै कारण नियमित महाधिवेशन हुन नसकेर वैशाखमा सार्नुपरेको हो। साथै, केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशनको औचित्य नरहेको निष्कर्ष निकालेको पनि खड्काको भनाइ छ।
खड्काले पार्टी विधानअनुसार केन्द्रीय समितिले सभापतिसहितको कार्यकाल एक वर्ष थप गर्न सक्ने व्यवस्था रहेको उल्लेख गर्दै आफूहरू नै १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक तथा आधिकारिक पार्टी रहेको दाबी गरे।
निर्वाचन आयोग पुग्ने क्रममा कार्यवाहक सभापति खड्का, नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, नेताहरू मिनेन्द्र रिजाल, रमेश लेखक, नैनसिंह महर, जितजंग बस्नेतलगायतको उपस्थिति रहेको थियो।