विराटनगरमा नदी संरक्षणसँगै ‘मिनी जंगल’ निर्माण अभियान सुरु, केसलिया खोला किनारमा १,६०० बिरुवा रोपिने ।
कोशी आवाज २०८३ असार १८ गते बिहीबार ।
विराटनगर । जलवायु परिवर्तन, तीव्र शहरीकरण, नदी कटान, भूक्षय तथा हरित क्षेत्रको घट्दो अवस्थालाई मध्यनजर गर्दै हरियो पाइला विराटनगर (Go Green Biratnagar) ले विराटनगर महानगरपालिका–५ स्थित केसलिया खोला किनारमा ‘मिनी जंगल’ निर्माण अभियान सुरु गरेको छ।
करिब दुई बिगाहा क्षेत्रफल रहेको खोला किनारको उकास (ऐलानी) जग्गालाई संरक्षण गरी हरियालीयुक्त सार्वजनिक पर्यावरणीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यसहित सब डिभिजन वन कार्यालय, विराटनगर को सहकार्यमा पहिलो चरणमा १,६०० वटा विभिन्न प्रजातिका बिरुवा रोप्ने तथा दीर्घकालीन संरक्षण गर्ने कार्यक्रम सञ्चालन गरिएको हो।
अभियानको शुभारम्भ कोशी प्रदेश सरकारका वन, पर्यटन तथा वातावरण मन्त्री माननीय भिम पराजुली तथा गौशंकर महादेव मन्दिरका पुजारी एवं हरियो पाइला विराटनगरका अध्यक्ष , अस्टचिरिन्जिबी मन्दिर ब्यवस्थापन समिती का अध्यक्ष बिनायक पन्त,वन पैदावर महासंघ कोशी प्रदेश का निवर्तमान अध्यक्ष बाबुराम घिमिरे ले संयुक्त रूपमा रुद्राक्षको बिरुवा रोपेर गर्नुभएको थियो।
आयोजक संस्थाका अनुसार यो अभियानको उद्देश्य केवल वृक्षारोपण गर्नु मात्र होइन, बिरुवालाई हुर्काएर प्राकृतिक वनको स्वरूप दिने, नदी किनारलाई सुरक्षित बनाउने तथा भावी पुस्ताका लागि हरियाली सम्पदा हस्तान्तरण गर्नु हो।
केसलिया खोला वर्षायाममा हुने कटानका कारण आसपासका सार्वजनिक जमिन जोखिममा पर्ने गरेको छ। त्यसैले नदी किनारमा बलियो र गहिरो जरा फैलाउने प्रजातिका बिरुवा रोपेर प्राकृतिक रूपमा माटो बाँध्ने, भूक्षय कम गर्ने तथा बाढीबाट हुने क्षति न्यूनीकरण गर्ने लक्ष्य लिइएको छ।
यस अभियानअन्तर्गत काँस, बाँस, सिसौ, खयर, अर्जुन, साज, सिमल, बर, पिपल, रुद्राक्ष, तित्री, जुलेबी, ताड (तारी), खजुर, नीम, बकाइनो, जामुन, बेल, कदम्ब, हर्रो, बर्रो, अमला लगायत तराई क्षेत्रमा राम्रोसँग हुर्कने रैथाने तथा वातावरणीय दृष्टिले महत्वपूर्ण प्रजातिका बिरुवा रोपिनेछन्। साथै मन्दिर परिसर र उपयुक्त स्थानमा आँप, लिची, कटहर, अमरुद, कागती लगायतका फलफूलका बिरुवासमेत रोपिने कार्यक्रम रहेको छ।
वातावरणविद्हरूका अनुसार यस्ता बिरुवाले नदी किनारको माटोलाई मजबुत बनाउनुका साथै कार्बन डाइअक्साइड अवशोषण गरी अक्सिजन उत्पादन बढाउने, धुलो र ध्वनि प्रदूषण कम गर्ने तथा शहरी तापक्रम घटाउन महत्वपूर्ण भूमिका खेल्छन्। हरित क्षेत्र विस्तारसँगै चराचुरुङ्गी, मौरी, पुतली तथा अन्य जीवजन्तुको प्राकृतिक बासस्थान पनि पुनःस्थापित हुने अपेक्षा गरिएको छ।
हरियो पाइला विराटनगरले भविष्यमा यस क्षेत्रलाई नदी संरक्षण क्षेत्र, मिनी जंगल, शहरी हरित पार्क, छहारी विश्रामस्थल, धार्मिक पर्यटन केन्द्र, पैदल मार्ग, साइकल ट्र्याक, पक्षी अवलोकन स्थल, खुला वातावरणीय अध्ययन केन्द्र तथा परिवारसँग घुम्न र जाडो मौसममा पिकनिक गर्न सकिने आकर्षक हरित गन्तव्य का रूपमा विकास गर्ने दीर्घकालीन योजना सार्वजनिक गरेको छ।
संस्थाका अनुसार बिरुवा रोपेर छोड्ने होइन, नियमित सिंचाइ, घेराबार, मलजल, संरक्षण तथा अनुगमनमार्फत सबै बिरुवालाई हुर्काउने जिम्मेवारी पनि संस्थाले नै लिनेछ। स्थानीय समुदाय, युवा, विद्यार्थी, सामाजिक संघसंस्था तथा सरकारी निकायको सहकार्यमा यस क्षेत्रलाई नमुना वातावरणीय संरक्षण परियोजनाका रूपमा विकास गर्ने लक्ष्य रहेको जनाइएको छ।
हरियो पाइला विराटनगरले यस अभियानमार्फत एउटा महत्वपूर्ण सन्देश दिएको छ—नदीलाई बाँधले मात्र होइन, प्रकृतिले पनि जोगाउँछ। बलियो जरा भएका रैथाने वनस्पतिले नदीको किनार समात्छन्, भूक्षय रोक्छन् र भावी पुस्ताका लागि हरियाली सुरक्षित गर्छन्।
यदि यो अभियान सफल भयो भने विराटनगरले केवल नयाँ हरित क्षेत्र मात्र प्राप्त गर्ने छैन, यसले नदी संरक्षण, जैविक विविधता, स्वच्छ वातावरण, शहरी सौन्दर्य, धार्मिक पर्यटन तथा वातावरणीय शिक्षाको क्षेत्रमा समेत नयाँ उदाहरण स्थापित गर्ने विश्वास गरिएको छ। आज रोपिएका यी १,६०० बिरुवा भोलिका दिनमा हजारौं नागरिकलाई शीतल छहारी, स्वच्छ हावा, सुरक्षित नदी किनार र प्राकृतिक सम्पदाको अमूल्य उपहार बन्ने अपेक्षा गरिएको छ।
साथै पहिलो चरणमा यो हप्ता बिराटनगर ४ र ५ मा २ बिघा बढि जमिनमा १६०० बिरुवा रोपिने र संस्थाले क्रमशः बिराटनगरका प्रमुख दुई नदि केशलिया र सिंघियाका उकास ऐलानी जग्गा पहिचान गरि संरक्षण अभियान अघि बढाउदै जाने जानकारी देवचन्द्र घिमिरेले गराएको छ।