समाजसेवालाई परिणाममुखी बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ विराटनगर ए–वनको नेतृत्वमा मम्ताज राईन ।

समाजसेवालाई परिणाममुखी बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ विराटनगर ए–वनको नेतृत्वमा मम्ताज राईन

कोशी आवाज २०८३ असार १८ गते बिहिबार ।

विराटनगर । लायन्स क्लब अफ विराटनगर ए–वन को लायन्स वर्ष २०२६/२७ का लागि मम्ताज राईन (मुम्ताज रहमान) अध्यक्षमा चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष राईनले नेतृत्व सम्हाल्दै समाजको आवश्यकता र प्राथमिकताअनुसार प्रभावकारी, दिगो तथा परिणाममुखी सेवामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मोरङको रङ्गेली नगरपालिका–८ निवासी राईनले आफ्नो कार्यकालमा युवा सशक्तीकरण, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, भोकमरी न्यूनीकरण, रक्तदान, मधुमेह नियन्त्रण तथा मानसिक स्वास्थ्यजस्ता सामाजिक सरोकारका विषयलाई प्राथमिकतामा राख्ने बताएका छन्। उनले लायन्सको अन्तर्राष्ट्रिय मूल मन्त्र “We Serve” लाई व्यवहारमा उतार्दै समुदायको वास्तविक आवश्यकतामा आधारित सेवा अभियान सञ्चालन गरिने उल्लेख गरेका छन्।

राईन लामो समयदेखि लायन्स अभियानमा सक्रिय रहँदै क्लबको सचिव तथा प्रथम उपाध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन्। संगठनमा हासिल गरेको अनुभवलाई नेतृत्वमा रूपान्तरण गर्दै क्लबलाई अझ गतिशील, उत्तरदायी र प्रभावकारी संस्थाका रूपमा विकास गर्ने लक्ष्य उनले लिएका छन्।

व्यावसायिक रूपमा उनी विराटनगर भन्सारमा भन्सार जाँचपास व्यवसायमा आबद्ध छन्। साथै, भन्सार एजेन्ट संघका सहसचिव तथा जेसिजका सक्रिय सदस्यसमेत रहेका राईनले जनप्रशासन विषयमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन्। उनी विगत पाँच वर्षदेखि लोकसेवा तयारी कक्षाका प्रशिक्षक तथा सहजकर्ताका रूपमा पनि सक्रिय छन्। प्रारम्भिक चरणमा विराटनगरमा प्रत्यक्ष कक्षा सञ्चालन गरेका उनले हाल काठमाडौंका विभिन्न शैक्षिक संस्थासँग सहकार्य गरी अनलाइन माध्यमबाट लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै आएका छन्।

सामाजिक नेतृत्व, व्यावसायिक अनुभव र शैक्षिक क्षेत्रको सक्रियतालाई समेट्दै उनले लायन्स क्लबलाई समुदायसँग अझ निकट बनाउने, सेवामूलक कार्यक्रमलाई प्रभावकारी बनाउने तथा सदस्यहरूको सक्रिय सहभागितामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य अघि सारेका छन्।

उल्लेखनीय रूपमा, ९ अगस्ट २०२० (नेपाल लायन्स डे) का दिन रञ्जन कुमार शाही को नेतृत्वमा लायन्स क्लब अफ विराटनगर ए–वनको स्थापना भएको थियो।

नयाँ कार्यसमितिमा अध्यक्ष मम्ताज राईनसँगै प्रथम उपाध्यक्ष टिकेन्द्र श्रेष्ठ, द्वितीय उपाध्यक्ष अमित कुमार यादव, तृतीय उपाध्यक्ष सविन अधिकारी तथा निर्देशकमा डा. अभिलेख सिंह चयन भएका छन्।

अध्यक्ष राईनले क्लबका सम्पूर्ण सदस्य, अग्रज लायन्स तथा शुभेच्छुकहरूको साथ, सहयोग र सुझावलाई आफ्नो कार्यकालको प्रमुख शक्ति मान्दै मानव सेवाको अभियानलाई अझ सशक्त, समावेशी र परिणाममुखी बनाउने प्रतिबद्धता पुनः व्यक्त गरेका छन्।