विराटनगरमा बालबालिकाको मायोपिया व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न ।

विराटनगरमा बालबालिकाको मायोपिया व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न । 

कोशी आवाज २०८३ जेठ ९ गते शनिबार ।

विराटनगर । विराटनगरमा बालबालिकामा बढ्दो दृष्टिदोष (मायोपिया) व्यवस्थापन सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। नेपाल भिजन केयर फाउन्डेशनले EssilorLuxottica सँगको सहकार्य तथा मेची आँखा अस्पताल र अप्टिकेयर नेपालको सहयोगमा कार्यक्रम आयोजना गरेको हो।

फाउन्डेशनका अध्यक्ष उप–प्राध्यापक सञ्जीव कुमार मिश्रको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोशी प्रदेशभरिका नेत्ररोग विशेषज्ञ, अप्टोमेट्रिस्ट तथा नेत्र सहायक गरी ७५ जनाको सहभागिता रहेको थियो।

प्रशिक्षणमा विद्यालय उमेरका बालबालिकामा बढ्दो मायोपिया, अत्यधिक स्क्रिन प्रयोग तथा बाहिरी गतिविधिको कमीले आँखामा पर्ने असरबारे व्यावहारिक र वैज्ञानिक जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा सहभागी विज्ञहरूले कोभिड–१९ पछि डिजिटल ग्याजेटको प्रयोग बढेसँगै बालबालिकामा मायोपियाको समस्या तीव्र रूपमा बढ्दै गएको बताएका छन्। उनीहरूले आधुनिक चस्मा प्रविधि, कन्ट्याक्ट लेन्स, एट्रोपिन थेरापी, नियमित निगरानी तथा दीर्घकालीन उपचार व्यवस्थापनबारे समेत जानकारी दिएका थिए।

सहभागीहरूले मायोपियालाई सामान्य समस्या मात्र नभई गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा लिनुपर्नेमा जोड दिएका थिए। आयोजकले यस्ता कार्यक्रमले नेपालमा बाल आँखा स्वास्थ्य सेवा थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन्।