सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन सुरु, औपचारिक पोशाकमा उपस्थित हुन आग्रह ।

सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन सुरु, औपचारिक पोशाकमा उपस्थित हुन आग्रह ।

कोशी आवाज २०८३ बैशाख २४ गते बुधबार ।

बिराटनगर । सङ्घीय संसद् सचिवालयले सङ्घीय संसद्का सदस्यहरूको विद्युतीय हाजिरी व्यवस्थापन प्रणाली कार्यान्वयनका लागि सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन सुरु गर्ने भएको छ। सचिवालयले सूचना जारी गर्दै सबै सांसदलाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरेको हो।

संसद् भवन सिंहदरबारमा हुने बायोमेट्रिक विवरण सङ्कलनसँगै सांसदहरूको औपचारिक तस्बिरसमेत खिचिने सचिवालयले जनाएको छ। यसका लागि सांसदहरूलाई औपचारिक पोशाकमा सङ्घीय संसद्को लोगो लगाएर उपस्थित हुन आग्रह गरिएको छ।

सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति तथा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सदस्यहरूलाई आज बिहान १० बजेदेखि १२ बजेसम्म सार्वजनिक लेखा समितिको सभाकक्षमा उपस्थित हुन भनिएको छ। सोही समयमा अर्थ समिति र विधायन व्यवस्थापन समितिका सदस्यहरूलाई अर्थ समितिको सभाकक्षमा उपस्थित हुन अनुरोध गरिएको छ।

त्यस्तै, उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूलाई आज दिउँसो २ बजेदेखि ४ बजेसम्म सार्वजनिक लेखा समितिको सभाकक्षमा उपस्थित हुन भनिएको छ भने कानून, न्याय तथा मानवअधिकार समितिका सदस्यहरूलाई अर्थ समितिको सभाकक्षमा उपस्थित हुन आग्रह गरिएको छ।

सचिवालयले शुक्रबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति तथा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सदस्यहरूलाई बिहान १० बजेदेखि १२ बजेसम्म सार्वजनिक लेखा समितिको सभाकक्षमा उपस्थित हुन अनुरोध गरेको छ। सोही समयमा पूर्वाधार विकास समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्यहरूलाई अर्थ समितिको सभाकक्षमा उपस्थित हुन भनिएको छ।

यस्तै, महिला तथा सामाजिक मामिला समितिका सदस्यहरूलाई शुक्रबार दिउँसो २ बजेदेखि ४ बजेसम्म सार्वजनिक लेखा समितिको सभाकक्षमा उपस्थित हुन आग्रह गरिएको छ भने राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूलाई अर्थ समितिको सभाकक्षमा उपस्थित हुन भनिएको छ।

सचिवालयका अनुसार वैशाख २८ गते सार्वजनिक लेखा समितिका सदस्यहरूलाई बिहान १० बजेदेखि १२ बजेसम्म आफ्नै सभाकक्षमा तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यहरूलाई सोही समयमा अर्थ समितिको हलमा उपस्थित हुन आग्रह गरिएको छ।