मैथिली कला क्षेत्रमा योगदान पुर्‍याएका वीरेन्द्रकुमार शाह सम्मानित ।

मैथिली कला क्षेत्रमा योगदान पुर्‍याएका वीरेन्द्रकुमार शाह सम्मानित ।

कोशी आवाज २०८३ जेठ ३१ गते आइतबार ।

विराटनगर । मैथिली कला तथा संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै मोरङको सुनवर्षी नगरपालिका निवासी कलाकार तथा सञ्चारकर्मी वीरेन्द्रकुमार शाह सम्मानित भएका छन्।
मैथिली विकास अभियान र मैथिली अनलाइनद्वारा आयोजित मैथिली लोकगीत प्रतियोगिताको फाइनल समारोहका अवसरमा शनिबार विराटनगरस्थित गुरुकुलमा आयोजित कार्यक्रममा शाहलाई सम्मान गरिएको हो।

आयोजक संस्थाले मैथिली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा उनले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरेको जनाएको छ।

शाहले हालसम्म दर्जनौं मैथिली म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। उनले ‘दिल तोडनी छै तु’, ‘जाइ छै त’, ‘जो हमर जान लेने हो’ र ‘बिदेश हम जायब कमाईला रुपैया’ लगायतका चर्चित मैथिली गीतका भिडियोमा अभिनय गरेका छन्।


सम्मान ग्रहणपछि शाहले आफूले गरेको कामको मूल्यांकन गर्दै प्रदान गरिएको सम्मानले थप जिम्मेवारी बोध गराएको बताए। मैथिली भाषा, साहित्य र सांस्कृतिक क्षेत्रको विकासमा आगामी दिनमा पनि सक्रिय रहने उनको प्रतिबद्धता थियो।

कार्यक्रममा मैथिली भाषा, साहित्य, संगीत तथा संस्कृतिका क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो। प्रतियोगिताको फाइनलसँगै कलाकारहरूको प्रस्तुति तथा सम्मान कार्यक्रमसमेत सम्पन्न भएको आयोजकले जनाएको छ।