प्रेस काउन्सिलद्वारा जनआस्था सम्पादक किशोर श्रेष्ठ पक्राउ र कार्यालयमा छापा घटनाप्रति गम्भीर ध्यानाकर्षण ।

प्रेस काउन्सिलद्वारा जनआस्था सम्पादक किशोर श्रेष्ठ पक्राउ र कार्यालयमा छापा घटनाप्रति गम्भीर ध्यानाकर्षण ।

कोशी आवाज २०८३ श्रावण २८ गते शुक्रबार ।

विराटनगर । प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरी निजी निवासमा खानतलासी गर्नुका साथै सञ्चारमाध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

काउन्सिलका प्रवक्ता तथा वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालद्वारा जारी विज्ञप्तिमा कुनै सञ्चारमाध्यम वा पत्रकारले व्यावसायिक आचारसंहिता उल्लङ्घन गरेमा काउन्सिलमा उजुरी गर्न सकिने कानुनी व्यवस्था रहेको स्मरण गराइएको छ।

काउन्सिलले पत्रकार र सञ्चारमाध्यमविरुद्ध परेका उजुरीमाथि छानबिन तथा आवश्यक कारबाही गर्दै आएको उल्लेख गर्दै समाचारप्रति चित्त नबुझेमा कानुनी प्रक्रियाअनुसार काउन्सिलमा उजुरी गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

विज्ञप्तिमा प्रेस स्वतन्त्रताको सम्मान र सदुपयोगसँगै पत्रकार तथा सञ्चारमाध्यमले सत्य, तथ्य, सन्तुलित र विश्वसनीय पत्रकारिताको अभ्यास गर्नुपर्नेमा जोड दिइएको छ। साथै प्रेस स्वतन्त्रताको नाममा हुनसक्ने स्वच्छन्दताप्रति पत्रकार तथा सञ्चारकर्मीलाई सचेत रहन आग्रह गरिएको छ।

प्रेस काउन्सिलले आफ्नो क्षेत्राधिकारभित्र रहेर पत्रकार र सञ्चारमाध्यमको अनुगमन गर्दै आएको पनि स्पष्ट पारेको छ।