वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन ।

वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन ।

कोशी आवाज २०८३ असोज २२ गते बिहिबार ।

विराटनगर । भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ।

बिहीबार बिहान गोवाको डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा गम्भीर कार्डियक अरेस्ट भएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याएपछि चिकित्सकहरूले मृत घोषणा गरेका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार बिहान करिब ५:२० बजे उनको निधन भएको हो। उनलाई बचाउन करिब ४५ मिनेटसम्म सीपीआर दिइएको भए पनि सफल हुन सकेन।

सन् १९५१ जनवरी १ मा जन्मिएका नाना पाटेकरले सन् १९७८ मा ‘गमन’ चलचित्रबाट अभिनय यात्रा सुरु गरेका थिए। हिन्दी तथा मराठी सिनेमामा आफ्नो विशिष्ट अभिनय शैली र प्रभावशाली संवाद प्रस्तुतिका कारण उनले छुट्टै पहिचान बनाएका थिए।

‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘तिरङ्गा’, ‘अग्निसाक्षी’, ‘अपहरण’, ‘वेलकम’, ‘नटसम्राट’ लगायतका चलचित्रमा उनले निर्वाह गरेका भूमिका दर्शकमाझ चर्चित छन्। भारतीय सिनेमामा उनको योगदानका लागि उनलाई पद्मश्रीसहित विभिन्न प्रतिष्ठित सम्मान प्राप्त भएको थियो।

अभिनयसँगै सामाजिक सेवामा पनि सक्रिय रहेका पाटेकरले ‘नाम फाउन्डेसन’मार्फत विशेषगरी खडेरी प्रभावित किसानलाई सहयोग गर्दै आएका थिए।

नाना पाटेकरको निधनसँगै हिन्दी तथा मराठी चलचित्र क्षेत्रमा शोकको लहर छाएको छ। उनको निधनलाई भारतीय सिनेमाका लागि ठूलो क्षतिका रूपमा लिइएको छ।