झापाको दमकबाट २२.१५ ग्राम खैरो हेरोइनजस्तो पदार्थसहित एक जना पक्राउ ।
कोशी आवाज २०८३ श्रावण ३ गते आइतबार ।
विराटनगर । झापाको दमक नगरपालिका–१ हवल्दारचोकस्थित टपरी होटलबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–४ पालिका टोल बस्ने ३५ वर्षीय पूर्णकुमार राई रहेका छन्।
राईले लागुऔषधको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा उनले लुकाई राखेको अवस्थामा खैरो हेरोइनजस्तो देखिने २२.१५ ग्राम लिसाइलो पदार्थ फेला परेको थियो।
प्रहरीले उक्त पदार्थसहित राईलाई नियन्त्रणमा लिएको हो। साथै, उनको साथबाट एउटा मोबाइल फोन र मे १० प ३९७० नम्बरको पल्सर मोटरसाइकलसमेत बरामद गरिएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।