अर्किड पब्लिक स्कुलमा निःशुल्क स्वास्थ्य शिविर, विद्यार्थी र अभिभावकसहित ४ सय बढी लाभान्वित ।
कोशी आवाज २०८३ भदौ ८ गते सोमबार ।
विराटनगर। विराटनगर–१० स्थित अर्किड पब्लिक स्कुलले आइतबार विद्यार्थीहरूको नतिजा वितरण कार्यक्रमसँगै निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरेको छ।
विद्यालयले विद्यार्थीको शैक्षिक उपलब्धिसँगै स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्दै एउटै अवसरमा शिक्षा र स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो।
नतिजा वितरण कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक उपलब्धि सार्वजनिक गर्दै उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई प्रोत्साहन तथा सम्मान गरिएको थियो। कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको सहभागिता रहेको थियो।
त्यसैगरी, विराट टिचिङ अस्पतालको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट विद्यार्थी तथा अभिभावक गरी करिब ४ सय जनाले स्वास्थ्य सेवा लिएका छन्। शिविरमा बालरोग, आँखा, नाक, कान, घाँटी तथा दन्तरोगसम्बन्धी परीक्षणसँगै आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिएको थियो।
विद्यालयका प्रिन्सिपल मनीष भट्टराईले विद्यार्थीको शैक्षिक विकाससँगै स्वास्थ्य र समग्र व्यक्तित्व विकासलाई समेत प्राथमिकतामा राखेर कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि विद्यार्थीको हितमा यस्ता उपयोगी तथा जनमुखी कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।
विद्यालयका भाइस प्रिन्सिपल पी.के. कामतले विद्यार्थीको सफलतामा अभिभावक र शिक्षकको महत्वपूर्ण भूमिका रहने बताउँदै शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा विद्यालयले आफ्नो जिम्मेवारीलाई प्राथमिकताका साथ अघि बढाउने बताउनुभयो।
नतिजा वितरणसँगै स्वास्थ्य शिविर आयोजना गर्ने विद्यालयको पहललाई अभिभावक तथा विद्यार्थीले सकारात्मक रूपमा लिएका छन्।
अर्किड पब्लिक स्कुलले शिक्षा प्रदान गर्ने संस्थाका रूपमा मात्र नभई विद्यार्थीको स्वास्थ्य, प्रतिभा, व्यक्तित्व विकास र समग्र भविष्य निर्माणमा समेत योगदान पुर्याउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।