रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा निःशुल्क आँखा परीक्षण शिविर ।

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा निःशुल्क आँखा परीक्षण शिविर ।

कोशी आवाज २०८३ भदौ ७ गते आइतबार ।

विराटनगर । निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ । क्लबले रामलाल गोल्छा आँखा अस्पताल तथा तिलगंगा इन्स्टिच्युट अफ अफ्थाल्मोलोजीसँगको सहकार्यमा दोस्रो पटक निःशुल्क आँखा परीक्षण शिविर आयोजना गरि सम्पन्न गरेको हो ।

क्लबले यसपटक जिल्ला प्रहरी कार्यालयमा मोरङमा शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म शिविर सञ्चालन गरेको थियो । शिविरबाट १७५ जना लभान्वित भएका छन् ।
परीक्षणका क्रममा थप उपचार तथा अन्य परीक्षण आवश्यक देखिएका केही बिरामीलाई अस्पतालमा उपचारका लागि रेफर गरिएको थियो ।

उक्त शिविरमा नजिकको दृष्टि कमजोर भएका ६३ जना बिरामीलाई आवश्यकताअनुसार निःशुल्क चस्मा वितरण गर्नुका साथै उपचार आवश्यक भएका बिरामीलाई शिविरस्थलमै आवश्यक औषधि उपलब्ध गराइएको थियो । सो औषधिको सम्पूर्ण खर्च रोटरी क्लब अफ विराटनगर डाउनटाउनले व्यहोरेको थियो ।

कार्यक्रममा क्लबकी अध्यक्ष सरिता गोल्छाले जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक कवित कटवाल, रामलाल गोल्छा आँखा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई प्रशंसापत्र र मायाको चिनो प्रदान गरेकी थिइन् ।

शिविरमा सदस्य स्वयंसेवकहरूले ७ घण्टा सेवा प्रदान गरेका थिए । कार्यक्रममा डिस्ट्रिक्ट सेक्रेटरी गौतम श्रेष्ठ, पब्लिक इमेज चेयर छोंग्बा शेर्पा तथा रोटरी क्लब अफ ग्रीनल्याण्डका प्रेसिडेन्ट–इलेक्ट विनोद लामाले शिविरस्थलमा उपस्थित भई कार्यक्रमको अवलोकन तथा हौसला प्रदान गरेका थिए ।

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले समुदायमा आँखासम्बन्धी स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले यस्ता जनहितकारी स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। यसअघि पनि क्लबले निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको थियो ।