सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह ।
कोशी आवाज २०८३ श्रावण ३ गते बुधबार ।
विराटनगर । प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी तथा व्यवसायीसँगको परामर्शका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन तथा सेवाको प्रयोगलाई प्राथमिकता दिन आग्रह गरेको छ।
कार्यालयले बुधबार पत्र जारी गर्दै स्थानीय सीप, उद्यम र उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापन गर्ने उद्देश्यले संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह तथा विदेशस्थित नेपाली नियोगहरूलाई स्वदेशी वस्तु तथा सेवाको प्रयोगमा प्राथमिकता दिन अनुरोध गरेको हो।
पत्रमा सरकारी निकायले स्टेशनरी, फर्निचर, निर्माण सामग्री तथा खाद्य वस्तु खरिद गर्दा नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ। यस्तै, सरकारी बैठक, समारोह तथा विभिन्न अवसरमा प्रदान गरिने कोसेलीमा नेपाली हस्तकलाका सामग्री प्रयोग गर्न समेत आग्रह गरिएको छ।
सार्वजनिक निकायले बोलपत्रसम्बन्धी कागजातमा स्वदेशी वस्तुलाई प्राथमिकता दिने व्यवस्था अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने प्रावधान पनि पत्रमा समेटिएको छ। स्वदेशी उत्पादनको प्रयोगसम्बन्धी व्यवस्थाको नियमित अनुगमन तथा त्रैमासिक निरीक्षण गर्नुपर्ने व्यवस्था समेत गरिएको छ।
सरकारको यो पहलले नेपाली उत्पादनको बजार विस्तार, स्वदेशी उद्योगको प्रवर्द्धन, रोजगारी सिर्जना तथा आयातमा निर्भरता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।