अदालतबाट पुनरावलोकनको निस्सा पाउनु आधाभन्दा बढी जित हो : देउवा ।
कोशी आवाज २०८३ भदौ २४ गते बुधबार ।
बिराटनगर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट पुनरावलोकनको निस्सा प्राप्त हुनु आफ्नो पक्षको आधाभन्दा बढी जित भएको दाबी गरेका छन्।
११३औँ बीपी जयन्तीको अवसरमा भक्तपुर कांग्रेसले बुधबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले अन्तिममा पार्टीको रुख चिन्ह, चारतारे झण्डा र पूर्ण आधिकारिकता आफूहरूले नै प्राप्त गर्ने दाबी गरे।
देउवाले भ्रममा परेका नेता तथा कार्यकर्तालाई यथार्थ बुझाउँदै पार्टीलाई एकताबद्ध बनाउन आफू छिट्टै देशव्यापी भ्रमणमा निस्कने घोषणा गरे। काठमाडौं आउँदा नागरिक तथा इमानदार कार्यकर्ताबाट प्राप्त माया र समर्थन कुनै व्यक्ति विशेषको नभई समग्र नेपाली कांग्रेसको शक्ति भएको उनको भनाइ थियो।
विशेष महाधिवेशनमा प्रतिनिधिको विधिवत् पहिचान तथा आवश्यक सनाखत नभएको आरोप लगाउँदै देउवाले खल्तीबाट नाम राखेर अवैधानिक रूपमा महाधिवेशन गरिएको दाबीसमेत गरे।
यसैबीच, संस्थापनइतर समूहका नेताहरूले आफूहरूले महाधिवेशनको मिति तय गरिसकेको भन्दै आधिकारिक रूपमा आफूहरूकै नेतृत्वमा महाधिवेशन हुने दाबी गरेका छन्।
कांग्रेस नेता शशांक कोइरालाले भने देउवा नेतृत्वमा हुने महाधिवेशनलाई एकताबद्ध रूपमा सफल बनाउनुपर्ने बताएका छन्। पार्टी विभाजनको सम्भावना देखिएको भन्दै अर्को पक्षलाई समेत साथमा लिएर अघि बढ्ने प्रयास भइरहेको उनले बताए।