३ वर्षीया बालिका हत्या प्रकरणमा चौधरी २० हजार धरौटीमा रिहा ।

३ वर्षीया बालिका हत्या प्रकरणमा चौधरी २० हजार धरौटीमा रिहा ।

कोशी आवाज २०८३ भदो २६ गते शुक्रबार ।

बिराटनगर । तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा प्रतिवादी बनाइएका जीतपुरसिमरा उपमहानगरपालिका–१ का प्रोग्रेश (पुरग्रेश) चौधरीलाई बारा जिल्ला अदालतले २० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले चौधरीका बुबा इन्द्रजीत, आमा बबिता, पत्नी पुष्पा, दिदी ममता लगायत अन्य ९ जनालाई भने साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो। उनीहरूको घटनामा संलग्नता पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएको अदालतको आदेशमा उल्लेख छ।

बालिकाका बुबा मनोज चौधरीले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरूमाथि अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी अदालतमा पेस गरेको थियो।

यसअघि घटनामा प्रतिवादी बनाइएका दुई नाबालकलाई अदालतले बाल सुधारगृहमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो। तीमध्ये एक नाबालकले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ भने अर्का नाबालकले संलग्नता अस्वीकार गरेका छन्।

जीतपुरसिमरा–१ की तीन वर्षीया बालिका भदौ २ गते घरनजिकैको खाली घरमा बलात्कारपछि हत्या गरिएको अवस्थामा मृत फेला परेकी थिइन्। साउन ३१ गतेदेखि हराएकी बालिकाको शव घरबाट करिब एक सय मिटर दक्षिणतर्फ भेटिएपछि घटनाको विरोधमा स्थानीय तथा परिवारजनले आन्दोलन गरेका थिए।

घटनालाई लिएर देशभर विरोध प्रदर्शनसमेत भएको थियो। भदौ ६ गते सरकार र मृतक बालिकाका परिवारबीच तीनबुँदे सहमति भएपछि भदौ ७ गते बालिकाको अन्त्येष्टि गरिएको थियो।