कोशी आवाज २०८२ कार्तिक १४ गते शुक्रबार ।
मोरङ रङ्गेली । इलामको माइजोगमाईमा आएको बाढी–पहिरोका बेला जनजीवन जोगाउन उल्लेखनीय भूमिका निर्वाह गर्ने इलाका प्रहरी कार्यालय नयाँबजारका प्रहरी सहायक निरीक्षक रमेश कुमार चौधरीलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ।
चौधरीले असोज १९ गते आएको विपद्का क्रममा ८ जनाको शव उद्धार गरेका थिए। साथै, २ सुत्केरी र १ बिरामीलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि सुरक्षित स्थानमा पठाएका थिए। उनले अवरुद्ध सडक सुचारु गर्न पनि सक्रिय भूमिका निभाएका थिए।
त्यसैगरी, उनले स्थानीय समुदायको सहयोगमा करिब ५० हजार रुपैयाँ बराबरका फर्निचर र सामग्रीहरू समेत प्रहरी कार्यालयका लागि जुटाएका थिए।
उनको उच्च मनोबल, साहस र जिम्मेवारीपूर्ण कार्यको कदरस्वरूप कोशी प्रदेश प्रहरी कार्यालयले उनलाई असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’को सम्मान प्रदान गरेको हो।