प्रधानमन्त्री बालेन्द्र शाह र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबीच टेलिफोन वार्ता ।
कोशी आवाज २०८३ भदौ १९ गते शुक्रबार ।
विराटनगर । सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबीच आज टेलिफोन वार्ता भएको छ। बिहान १० बजे भएको वार्तामा नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अष्ट्रेलियाली समकक्षीसँग संवाद हुनु महत्वपूर्ण रहेको प्रधानमन्त्री शाहले बताउनुभएको छ।
प्रधानमन्त्री शाहले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको जनधन तथा भौतिक पूर्वाधारको क्षतिप्रति अष्ट्रेलिया सरकार र त्यहाँका नागरिकले देखाएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गर्नुभयो।
उहाँले विपद्का बेला उद्धार तथा राहत कार्यमा अष्ट्रेलियाले पुर्याएको सहयोगको समेत प्रशंसा गर्नुभयो। विशेषज्ञसहित ड्रोन अपरेटरको टोली, अत्यावश्यक राहत सामग्री तथा आर्थिक सहयोग उपलब्ध गराएकोमा प्रधानमन्त्री शाहले अष्ट्रेलिया सरकारप्रति आभार व्यक्त गर्नुभयो।
वार्ताका क्रममा प्रधानमन्त्री शाहले बाढीका कारण बेपत्ता भएका अष्ट्रेलियाली नागरिकहरूको खोजी कार्यलाई समेत तीव्रता दिइएको जानकारी गराउनुभयो।
नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखिको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले विपद्को यस कठिन घडीमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा अष्ट्रेलियासँग निरन्तर समन्वय र सहकार्य जारी रहने बताउनुभयो।
जवाफमा अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले विपद्का कारण नेपालले भोगिरहेको कठिन परिस्थितिप्रति चासो र चिन्ता व्यक्त गर्नुभएको बताइएको छ।
#Nepal #Australia #BhoteKoshiFlood #BalenShah #AnthonyAlbanese #NewsUpdate #KoshiAwaj