भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार तीव्र, सुरुङबाट दुई जनाको जीवित उद्धार ।
कोशी आवाज २०८३ भदौ १९ गते शुक्रबार।
विराटनगर । विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्वलगायत क्षेत्रमा नेपाली सेनासहित सुरक्षा निकायको खोज, उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी रहेको छ।
नेपाली सेनाले २०८३ भदौ १९ गते अपराह्न ३ बजेसम्म सार्वजनिक गरेको खोज तथा उद्धार अपडेटअनुसार नेपाली सेनाका ७ वटा र गैरसैनिक ६ वटा हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट २९ जनाको उद्धार गरिएको छ।
यसैबीच, त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारका लागि नेपाली सेनाका ७५ जना, सशस्त्र प्रहरी बल नेपालका १८ जना तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त खोज तथा उद्धार टोली परिचालन गरिएको छ। उक्त टोलीले सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत श्री वीरेन्द्र अस्पताल, छाउनी पुर्याएको छ। उद्धारका क्रममा सोही स्थानबाट एक शव समेत निकालिएको छ भने थप खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।
त्यसैगरी, त्रिशूली–३बी जलविद्युत् आयोजनामा नेपाली सेनाका ८९ जना, गैरसैनिक ३ जना तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोली परिचालन गरिएको छ। टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरी उक्त क्षेत्रसम्म पुग्ने प्रयास गरिरहेको छ। एक्स्काभेटर पुग्ने बाटो निर्माणका लागि बबक्याट प्रयोग गरी खन्ने तथा माटो पन्छाउने कार्य भइरहेको छ।
उद्धार टोली अडिट–१ बाट ४२६ मिटरभित्र प्रवेश गरिसकेको छ। साथै, अडिट–१ बाट एक्स्काभेटरलाई अपरेटरसहित भित्र पठाई त्रिशूली–३एसँग लिङ्कअप गराउने कार्य पनि भइरहेको छ।
लाङटाङ हाइड्रोको सुरुङभित्र नेपाली सेनाका २५ जना तथा गैरसैनिक २ जनासहितको संयुक्त खोज तथा उद्धार टोली प्रवेश गरी खोजी गर्ने क्रममा दुई वटा शव फेला परेको छ। उक्त क्षेत्रमा पनि थप खोज तथा उद्धार कार्य जारी रहेको छ।
चिलिमे हाइड्रोमा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले जेनेरेटर र मड पम्पको सहायताले सुरुङभित्र जमेको लेदो हटाउने कार्य गरिरहेको छ।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको हाकुस्थित सुरुङमा नेपाली सेनाका १७ जना तथा आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले राफ्ट र डुङ्गाको प्रयोग गरी खोजी कार्य जारी राखेको छ। सुरुङभित्र रहेको पानी फाल्ने कामसमेत भइरहेको जनाइएको छ।
यता, देवीघाटस्थित तादी नदीमा पुल जडानका लागि नेपाली सेनाको इन्जिनियरिङ फौजबाट ५५ जनाको टोली परिचालन भई आधार निर्माणको काम गरिरहेको छ। सो स्थानमा जडान गर्न गजुरीमा रहेको एक्रो ब्रिजका केही भाग त्रिशूली पुर्याइएको छ भने थप सामग्री ढुवानी भइरहेको छ।
प्रभावित क्षेत्रका जङ्गल, डाँडा, खोला तथा बस्ती क्षेत्रमा स्थानीयवासीलाई सुरक्षा प्रत्याभूति गराउन डाक्टर अधिकृतसहित पैदल गस्ती सञ्चालन गरिएको छ। यस क्रममा प्रभावित नागरिकलाई आवश्यक स्वास्थ्य सेवा समेत प्रदान गरिएको छ।
नेपाली सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा ९ हजार ३ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन गरिएको छ। उनीहरूले घाइतेहरूको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन तथा आपत्कालीन उपचारलगायतका कार्य समन्वयात्मक रूपमा गरिरहेका छन्।
विपद्को अत्यन्त चुनौतीपूर्ण परिस्थितिका बीच पनि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य निरन्तर जारी रहेको नेपाली सेनाले जनाएको छ।
#NepaliArmy #नेपालीसेना #BhotekoshiFlood #Trishuli3A #Trishuli3B #कोशीआवाज