भोटेकोशी बाढी : सुरुङबाट दुई जनाको जीवित उद्धार, विभिन्न क्षेत्रमा खोज तथा राहत जारी ।
कोशी आवाज २०८३ भदौ १९ गते शुक्रबार।
विराटनगर । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ। नेपाली सेनाले २०८३ भदौ १९ गते साँझ ७ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै हवाई तथा जमिनमार्फत उद्धार, सुरुङभित्र खोज तथा उद्धार र राहत वितरण कार्य निरन्तर जारी रहेको जनाएको छ।
नेपाली सेनाका ७ वटा तथा गैरसैनिक ६ वटा हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट हालसम्म ५८ जनाको उद्धार गरिएको छ।
त्रिशूली–३ए सुरुङबाट दुई जनाको जीवित उद्धार
त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारका क्रममा नेपाली सेनाका ७५ जना, सशस्त्र प्रहरी बल नेपालका १८ जना, नेपाल प्रहरी तथा विज्ञसहितको संयुक्त टोलीले दुई जनालाई जीवितै उद्धार गरेको छ।

उद्धार गरिएका दुवै जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत श्री वीरेन्द्र अस्पताल, छाउनी ल्याइएको छ। सोही स्थानबाट एक जनाको शव पनि निकालिएको छ भने थप खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
अन्य जलविद्युत् आयोजनाका सुरुङमा पनि खोजी जारी
त्रिशूली–३बी जलविद्युत् आयोजनामा नेपाली सेनाका ८९ जना, गैरसैनिक ३ जना तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले कार्यालय तथा आवास रहेको क्षेत्रमा करिब १५ फिट गहिरो खाडल खनेर खोजी गरेको छ। हालसम्म त्यहाँ केही फेला परेको छैन।
त्रिशूली–३एसँग सम्पर्क मार्ग जोड्न एक्स्काभेटर प्रयोग गरी करिब ७ सय मिटर बाटो सफा गरिएको छ।
त्यसैगरी, लाङटाङ हाइड्रोपावरको सुरुङभित्र नेपाली सेनाका २५ जना र दुई जना गैरसैनिकसहितको टोली प्रवेश गरी खोजी गर्दा दुई वटा शव फेला परेका छन्। उक्त क्षेत्रमा थप खोज तथा उद्धार कार्य जारी छ।
चिलिमे हाइड्रोपावरमा विदेशी नागरिकसमेत सम्मिलित संयुक्त टोलीले जेनेरेटर र मड पम्पको सहायताले सुरुङभित्र जमेको लेदो हटाउँदै पुनः करिब १०० मिटरभित्रसम्म पुगेको जनाएको छ।
माथिल्लो त्रिशूली–१ आयोजनाको हाकुस्थित सुरुङमा नेपाली सेनाका १७ जना तथा आयोजनाका प्रतिनिधिसहितको टोलीले र्याफ्ट र डुंगा प्रयोग गरी खोजी कार्य गरिरहेको छ। सुरुङभित्र रहेको पानी निकाल्ने कार्यसमेत भइरहेको छ।
तादी नदीमा पुल जडानको तयारी

देवीघाटस्थित तादी नदीमा पुल जडानका लागि नेपाली सेनाको इन्जिनियरिङ फौजबाट ५५ जनाको टोली खटिएको छ। टोलीले पुल जडानका लागि आवश्यक बेस निर्माणको काम गरिरहेको छ।
गजुरीमा रहेको एक्रो ब्रिज (Acrow Bridge) का केही भाग त्रिशूली पुर्याइएको छ भने थप सामग्री ढुवानी गर्ने कार्य जारी रहेको छ।
९ हजार ३ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार ३ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा खटिएका छन्।
सुरक्षा फौजले प्रभावित क्षेत्रका जङ्गल, डाँडा, खोला तथा बस्ती क्षेत्रमा पैदल गस्ती गर्दै खोज तथा उद्धार, घाइतेको उपचार, शव व्यवस्थापन, अवरुद्ध सडक सञ्चालन तथा आवश्यक स्वास्थ्य सेवा प्रदान गरिरहेको छ।
विपद्पछि प्रभावित क्षेत्रमा फसेका तथा बेपत्ता व्यक्तिहरूको खोजी, उद्धार र राहत कार्यलाई निरन्तरता दिइएको नेपाली सेनाले जनाएको छ।
#NepaliArmy #BhotekoshiFlood #SearchAndRescue #NepalFlood #KoshiAwaj