विराटनगरमा आज ५९औँ राधाकृष्ण रथयात्रा, पाँच लाखभन्दा बढी भक्तजन सहभागी हुने अपेक्षा ।

विराटनगरमा आज ५९औँ राधाकृष्ण रथयात्रा, पाँच लाखभन्दा बढी भक्तजन सहभागी हुने अपेक्षा ।

कोशी आवाज २०८३ भदौ २० गते शनिबार ।

विराटनगर । विराटनगरमा आज शनिबार ५९औँ ऐतिहासिक राधाकृष्ण रथयात्रा निकालिँदैछ। श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट प्रत्येक वर्ष आयोजना हुँदै आएको रथयात्रा राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे सुरु हुने भएको छ। रथयात्राका लागि सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ।

यस वर्षको रथयात्रामा नेपालका विभिन्न जिल्ला तथा छिमेकी भारतबाट समेत गरी पाँच लाखभन्दा बढी भक्तजन सहभागी हुने अनुमान गरिएको छ। ठूलो संख्यामा श्रद्धालुको सहभागिता हुने भएकाले रथयात्रालाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन आयोजक, स्वयंसेवक तथा सुरक्षा निकाय सक्रिय भएका छन्।

यसपटकको रथयात्रामा डीजे साउन्डको प्रयोगमा प्रतिबन्ध लगाइएको छ। धार्मिक पर्वको मौलिकता तथा आध्यात्मिक वातावरण कायम राख्ने उद्देश्यले डीजेको सट्टा भजन–कीर्तन, धार्मिक झाँकी तथा परम्परागत सांस्कृतिक प्रस्तुतिलाई प्राथमिकता दिइएको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले बताए।

रथयात्राका क्रममा रथमा जडान गरिएका दुईवटा हर्न माइकबाट भगवानका भजन बजाइनेछन्। साथै, विभिन्न स्थानमा स्थानीय भजन मण्डलीले भजन–कीर्तन प्रस्तुत गर्ने व्यवस्था गरिएको छ। पछिल्लो समय धार्मिक पर्व तथा कार्यक्रममा चर्को डीजे साउन्डको प्रयोग बढ्दै गएपछि रथयात्राको मौलिकता जोगाउन यस्तो व्यवस्था गरिएको आयोजकको भनाइ छ।

९५ वर्ष पुरानो धार्मिक परम्परा

विराटनगरको राधाकृष्ण रथयात्राको इतिहास लामो र गौरवपूर्ण रहेको छ। विसं १९८८ मा राधाकृष्ण मन्दिर स्थापना भएपछि खट यात्राबाट सुरु भएको धार्मिक परम्पराले विक्रम संवत् २०२५ देखि भव्य रथयात्राको रूप लिएको हो।

खट यात्राको हिसाबले यस वर्ष ९५औँ यात्रा भए पनि रथयात्राको हिसाबले ५९औँ संस्करण आयोजना हुन लागेको हो।

करिब ८ किलोमिटर नगर परिक्रमा

राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा तीनपैनी चोक, गोल्छा चोक, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक र महेन्द्र चोक हुँदै कोशी राजमार्गतर्फ जानेछ। त्यसपछि बरगाछी हुँदै दुर्गा चोक पुगेर पुनः राधाकृष्ण मन्दिरमा फर्किने कार्यक्रम रहेको छ।

करिब ८ किलोमिटर दूरी तय गर्ने रथयात्राका क्रममा ४४ स्थानमा विश्रामको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

भेटी रकम भोटेकोशी बाढीपीडितलाई

यस वर्षको रथयात्राको अर्को विशेष पक्ष भनेको भेटीबापत संकलन हुने सम्पूर्ण रकम भोटेकोशी बाढीपीडितको राहतका लागि प्रयोग गरिने भएको छ।

नगर परिक्रमा गराइने तीनवटा दानपेटिकाबाट संकलन हुने रकमसमेत भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने आयोजकले जनाएको छ।

कडा सुरक्षा व्यवस्था, ड्रोनबाट निगरानी

रथयात्राको सुरक्षालाई लक्षित गर्दै बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। भिडभाड तथा रथयात्राको अवस्थाबारे निगरानी गर्न ड्रोनसमेत प्रयोग गरिने मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए।

रथयात्राका क्रममा कुनै पनि उच्छृङ्खल तथा आपराधिक गतिविधि गर्ने व्यक्तिलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ।

रथयात्रालाई व्यवस्थित रूपमा सञ्चालन गर्न एक हजार एक सदस्यीय मूल समारोह समिति तथा २१ वटा उपसमिति गठन गरिएको छ। स्वास्थ्य, खानेपानी, सरसफाइ, विद्युत्, स्वयंसेवक, झाँकी, सञ्चार तथा प्रचारप्रसारलगायतका व्यवस्थापनका लागि छुट्टाछुट्टै उपसमिति परिचालन गरिएको आयोजकले जनाएको छ।

विराटनगरको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्रालाई यस वर्ष मौलिकता, धार्मिक आस्था र सामाजिक उत्तरदायित्वसँग जोडेर आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।