कांग्रेसले जारी गर्यो निर्वाचन निर्देशिका २०८३, निर्वाचन अधिकृत र प्रतिनिधिलाई उम्मेदवार बन्न रोक ।
कोशी आवाज २०८३ भदौ ३० गते मंगलबार ।
विराटनगर । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउन निर्वाचन निर्देशिका २०८३ जारी गरेको छ। केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रियालाई व्यवस्थित गर्न निर्देशिका सार्वजनिक गरेको हो।
निर्देशिकामा निर्वाचन अधिकृत तथा मतदान अधिकृतको नियुक्ति, उनीहरूको काम, कर्तव्य र अधिकार, मतदाता नामावली प्रकाशन तथा निर्वाचन प्रतिनिधिसम्बन्धी विभिन्न व्यवस्था गरिएको छ।
निर्देशिकाअनुसार निर्वाचन अधिकृतले नेपाली कांग्रेसका मूल्य, मान्यता र आदर्शसँग नजिक रहेका शुभेच्छुक, सहयोगी संस्था तथा सामाजिक व्यक्तित्वमध्येबाट आवश्यकताअनुसार मतदान अधिकृत नियुक्त गर्न सक्नेछन्।
यस्तै, निर्वाचन प्रतिनिधि, निर्वाचन अधिकृत वा मतदान अधिकृत आफू खटिएको वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला, प्रदेश वा नेपाली जनसम्पर्क समितिको निर्वाचनमा कुनै पनि पद वा प्रतिनिधिका लागि उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ।
पार्टीका विभिन्न तहमा निर्वाचन सम्पन्न गर्ने क्रममा निर्वाचन समिति, निर्वाचन अधिकृत तथा मतदान अधिकृतलाई सम्बन्धित तहका पार्टी पदाधिकारी तथा सदस्यहरूले आवश्यक सहयोग गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।
विदेशस्थित नेपाली जनसम्पर्क समितिको अधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले नेपालबाट निर्वाचन प्रतिनिधि खटाउने व्यवस्था पनि गरिएको छ। नेपालबाट प्रतिनिधि खटाउन सम्भव नभए सम्बन्धित देशमा कार्यरत नेपाली नागरिक वा नजिकको देशबाट प्रतिनिधि खटाउन सकिने व्यवस्था निर्देशिकामा समेटिएको छ।
त्यसरी खटाइएका निर्वाचन प्रतिनिधि वा अधिकृतले सम्बन्धित देशमा हुने नेपाली जनसम्पर्क समितिको अधिवेशनमा कुनै पनि पदमा उम्मेदवार बन्न वा सर्वसम्मत रूपमा चयन हुन नपाउने व्यवस्था गरिएको छ।
निर्वाचन प्रक्रियामा निष्पक्षता, पारदर्शिता र विश्वसनीयता कायम गर्ने उद्देश्यले निर्देशिकामा निर्वाचनमा संलग्न पदाधिकारी तथा प्रतिनिधिका लागि स्पष्ट आचार र जिम्मेवारी निर्धारण गरिएको कांग्रेसले जनाएको छ।