सरकारद्वारा दुई दिने सार्वजनिक बिदा हटाउने तयारी, मन्त्रिपरिषद्बाट निर्णय हुने सम्भावना ।

सरकारद्वारा दुई दिने सार्वजनिक बिदा हटाउने तयारी, मन्त्रिपरिषद्बाट निर्णय हुने सम्भावना ।

कोशी आवाज २०८३ जेठ २४ गते आइतबार ।

बिराटनगर । सरकारले हाल लागू रहेको हप्ताको दुई दिने सार्वजनिक बिदा व्यवस्था पुनरावलोकन गर्दै हटाउने तयारी गरेको छ। गृहमन्त्रालय स्रोतका अनुसार उक्त व्यवस्था अपेक्षाअनुसार प्रभावकारी नभएको निष्कर्षसहित पुरानै प्रणालीमा फर्किने विषयमा छलफल भइरहेको छ।

स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले औपचारिक निर्णय गरेमा शनिबार र आइतबार दिइँदै आएको दुई दिने सार्वजनिक बिदा अन्त्य भई सातामा एक दिन मात्र बिदा कायम हुन सक्नेछ।

सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने तथा ऊर्जा बचत गर्ने उद्देश्यले दुई दिने सार्वजनिक बिदा लागू गरेको थियो। त्यसपछि सरकारी कार्यालय, विद्यालय तथा विभिन्न सार्वजनिक निकायमा शनिबार र आइतबार बिदा दिइँदै आएको थियो।

तर, कार्यान्वयनको केही समयपछि नै सेवा प्रवाहमा समस्या आएको, प्रशासनिक कामकाज प्रभावित भएको तथा आर्थिक गतिविधिमा समेत नकारात्मक असर परेको भन्दै विभिन्न क्षेत्रबाट आलोचना हुन थालेको थियो। व्यवसायी, कर्मचारी तथा सेवाग्राहीहरूले समेत उक्त व्यवस्थाले व्यवहारिक कठिनाइ सिर्जना गरेको गुनासो गरेका थिए।

यही पृष्ठभूमिमा सरकारले दुई दिने बिदा व्यवस्था खारेज गरी पुरानै व्यवस्था अनुसार सातामा एक दिन मात्र सार्वजनिक बिदा कायम गर्ने तयारी गरेको बताइएको छ। यद्यपि यस सम्बन्धमा अन्तिम निर्णय मन्त्रिपरिषद् बैठकबाट भएपछि मात्र औपचारिक रूपमा लागू हुनेछ।

सरकारको निर्णय सार्वजनिक भएपछि थप विवरण आउने अपेक्षा गरिएको छ।