गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ।
कोशी आवाज २०८३ श्रावण २० गते बुधबार ।
विराटनगर । जहदा गाउँपालिकाले गर्भवती महिलाहरूलाई लक्षित गर्दै निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। सुरक्षित मातृत्वलाई प्राथमिकता दिँदै गाउँपालिकाले २४सै घण्टा उपलब्ध हुने एम्बुलेन्स सेवाको शुभारम्भ गरेको जनाएको छ।
गाउँपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद साह र उपाध्यक्ष हन्ना सोरेनको पहलमा सुरु गरिएको यस सेवाबाट गर्भवती महिलाहरूलाई स्वास्थ्य संस्थासम्म सुरक्षित रूपमा पुर्याउने व्यवस्था गरिएको छ।
गाउँपालिकाका अनुसार आकस्मिक अवस्थाका गर्भवती महिलाले निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गर्नेछन्। साथै अन्य बिरामीका लागि भने सशुल्क एम्बुलेन्स सेवा उपलब्ध हुनेछ।
एम्बुलेन्स चालक अरविन्द ऋषिदेव रहेका छन्। सेवा आवश्यक परेमा ९८०२७०९९९८ नम्बरमा २४सै घण्टा सम्पर्क गर्न सकिने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले यस सेवाले सुरक्षित मातृत्व, स्वस्थ शिशु तथा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउने विश्वास व्यक्त गरेको छ। “स्वस्थ जहदा, समृद्ध जहदाबासी” भन्ने नारासहित सञ्चालनमा आएको यो सेवा स्थानीय गर्भवती महिलाका लागि महत्वपूर्ण राहत बन्ने अपेक्षा गरिएको छ।