रंगेलीमा कांग्रेसको वडा संगठन विस्तार तीव्र, विभिन्न वडामा संयोजक तोकिए
कोशी आवाज २०८३ असोज १५ गते बिहिबार
बिराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै रंगेली नगरपालिकामा देउवा समूहले संगठन विस्तार तथा वडा अधिवेशनको तयारीलाई तीव्र बनाएको छ। समूहले विभिन्न वडामा वडा संयोजक तोक्दै टोल–टोलमा संगठन निर्माण र अधिवेशनको तयारी अघि बढाएको जनाएको छ।
निर्वाचनका लागि रंगेली संयोजक नरेश कुमार साहका अनुसार वडा अधिवेशनलाई व्यवस्थित बनाउन हालसम्म विभिन्न वडामा संयोजक तोकिएको हो।
तोकिएका वडा संयोजकहरूमा वडा नं. २ मा मोहन कुमार श्रेष्ठ, वडा नं. ३ मा राजन शिवाकोटी, वडा नं. ५ मा विनोद कुमार मण्डल केवट, वडा नं. ६ मा मुकेश कुमार मण्डल (डायमण्ड), वडा नं. ७ मा मचिन्द्रबहादुर कटुवाल र वडा नं. ९ मा राजेन्द्र खड्का रहेका छन्।
संयोजकहरूलाई आ–आफ्नो वडाका टोल तथा बस्तीमा पुगेर कांग्रेसको संगठनात्मक अवस्था बुझ्ने, कार्यकर्तासँग समन्वय गर्ने तथा नयाँ संगठन निर्माणलाई प्राथमिकता दिन निर्देशन दिइएको साहले बताए।
आगामी वडा अधिवेशनलाई लक्षित गर्दै कांग्रेसभित्र विभिन्न समूहले आ–आफ्नो संगठन बलियो बनाउने प्रयास गरिरहेका बेला देउवा समूहले पनि रंगेलीमा वडा तहबाटै संगठन परिचालन थालेको हो।
वडा तहमा संगठन विस्तार र कार्यकर्ता परिचालनलाई प्रभावकारी बनाउन सके आगामी अधिवेशनमा आफ्नो समूहको संगठनात्मक उपस्थिति बलियो बनाउन सकिने अपेक्षा समूहले गरेको छ।