जहदाको बाल लक्ष्मी विद्यालयमा ‘Learning Through Play’ कार्यक्रम ।
कोशी आवाज २०८३ असोज १५ गते बिहीबार ।
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले जहदा गाउँपालिका–३, हात्तिबन्धास्थित श्री बाल लक्ष्मी प्राथमिक विद्यालयमा ‘Child Development – Learning Through Play’ कार्यक्रम सम्पन्न गरेको छ।
क्लबकी अध्यक्ष सरिता गोल्छाको नेतृत्वमा आयोजित बालकेन्द्रित कार्यक्रममा विद्यार्थीहरूलाई विभिन्न इनडोर तथा आउटडोर खेल सामग्री वितरण गरिएको थियो।
कार्यक्रमअन्तर्गत विद्यालयलाई क्यारम बोर्ड, ब्याडमिन्टन सेट, क्रिकेट सेट, LEGO ब्रिक्स, लुडो, चेस, फुटबल, सफ्ट बल, हुला हुपलगायतका खेल तथा खेल सामग्री उपलब्ध गराइएको हो।
खेलमार्फत सिकाइलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमले बालबालिकामा शारीरिक सक्रियतासँगै सिर्जनशीलता, समूहमा काम गर्ने क्षमता, सञ्चार सीप तथा समस्या समाधान गर्ने क्षमताको विकासमा सहयोग पुग्ने अध्यक्ष गोल्छाले बताइन्।
विभिन्न खेलमा सहभागी हुँदा विद्यार्थीबीच आपसी अन्तरक्रिया बढ्नुका साथै कक्षाकोठाबाहिर पनि सक्रिय रूपमा सिक्ने र रमाउने वातावरण निर्माण भएको क्लबले जनाएको छ।
यस पहलबाट विद्यालयका करिब १५० विद्यार्थीले नियमित रूपमा विभिन्न इनडोर तथा आउटडोर खेल खेल्ने अवसर पाउने भएका छन्। खेलकुदलाई बाल विकास र सिकाइसँग जोड्दै विद्यालयमा खुसीपूर्ण, सक्रिय, सिर्जनात्मक तथा सहभागितामूलक वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ ।
क्लबले बालबालिकाको शैक्षिक विकाससँगै आत्मविश्वास, सामाजिक सीप, सिर्जनशीलता तथा समग्र व्यक्तित्व विकासमा योगदान पुर्याउने यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।