लुम्बिनी विकास बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ३०१ विद्यार्थीलाई भेस्ट वितरण ।

कोशी आवाज २०८३ असार २२ गते सोमबार ।

विराटनगर । संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले लुम्बिनी विकास बैंक लिमिटेड, रङ्गेली शाखाले पब्लिक माध्यमिक विद्यालय, रङ्गेली नगरपालिका–६ मा अध्ययनरत शिशु कक्षादेखि कक्षा ५ सम्मका ३०१ जना विद्यार्थीलाई विद्यालय भेस्ट वितरण गरेको छ।

विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा पब्लिक माध्यमिक विद्यालयका प्रधानाध्यापक अरविन्द कुमार शाह, लुम्बिनी विकास बैंक रङ्गेली शाखाका प्रमुख दुर्गेश रोनिया, रङ्गेली नगरपालिका–६ का वडा अध्यक्ष सुजित कुमार मण्डल, लुम्बिनी विकास बैंकका ऋण शाखा अधिकृत सन्तोष मेहता तथा सिभिल इन्जिनियरिङ विद्यालयका प्रधानाध्यापक अम्लेश्वर ठाकुर लगायतले को उपस्थित मा लुम्बिनी विकास बैंक द्वारा विद्यार्थीहरूलाई भेस्ट हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक अरविन्द कुमार शाहले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयका साना विद्यार्थीहरूलाई गरेको सहयोग अत्यन्तै प्रशंसनीय रहेको बताए। उनले यस्तो सहयोगले विद्यार्थीहरूमा विद्यालयप्रतिको अपनत्व, उत्साह र आत्मविश्वास बढाउने विश्वास व्यक्त गर्दै लुम्बिनी विकास बैंकप्रति विद्यालय परिवारको तर्फबाट हार्दिक आभार प्रकट गरे। साथै आगामी दिनमा पनि शिक्षा क्षेत्रमा यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिइने अपेक्षा व्यक्त गरे।

त्यसैगरी लुम्बिनी विकास बैंक रङ्गेली शाखाका प्रमुख दुर्गेश रोनियाले बैंकले वित्तीय सेवा प्रदान गर्नुका साथै शिक्षा, स्वास्थ्य, सामाजिक विकास र समुदायको समृद्धिका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए। बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले भेस्ट वितरण गरिएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए।

वडा अध्यक्ष सुजित कुमार मण्डलले स्थानीय सरकार, शैक्षिक संस्था र वित्तीय संस्थाबीचको सहकार्यले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले विद्यार्थीको हितका लागि गरिएको सहयोगले अभिभावकलाई समेत राहत पुग्ने उल्लेख गर्दै निजी क्षेत्रलाई यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम अझ प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गरे।

कार्यक्रममा सिभिल इन्जिनियरिङ विद्यालयका प्रधानाध्यापक अम्लेश्वर ठाकुरले शिक्षामा सबै क्षेत्रको सहकार्य आवश्यक रहेको धारणा राख्दै विद्यार्थीको शैक्षिक विकासका लागि गरिने यस्ता सहयोग प्रेरणादायी हुने बताए।

भेस्ट वितरण कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। भेस्ट प्राप्त गरेपछि विद्यार्थीहरू निकै उत्साहित देखिएका थिए। विद्यालय पोशाकसँगै प्रयोग गर्न मिल्ने भेस्टले विशेषगरी जाडो मौसममा विद्यार्थीहरूलाई सहज हुने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमको समापनमा विद्यालय व्यवस्थापन समितिले लुम्बिनी विकास बैंक लिमिटेडप्रति धन्यवाद ज्ञापन गर्दै शिक्षा क्षेत्रमा गरिएको यस्तो सहयोगले विद्यार्थीहरूको मनोबल अभिवृद्धि गर्नुका साथै बैंक र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको थियो। विद्यालयले आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक सहयोगका कार्यक्रम निरन्तर सञ्चालन भइरहून् भन्ने अपेक्षा समेत व्यक्त गरेको छ।