मतदाताको विवेकपूर्ण निर्णयका लागि ‘मौन अवधि’ महत्वपूर्ण : निर्वाचन आयुक्त तुलाधर ।

मतदाताको विवेकपूर्ण निर्णयका लागि ‘मौन अवधि’ महत्वपूर्ण : निर्वाचन आयुक्त तुलाधर 

कोशी आवाज २०८२ फागुन १८ गते सोमबार ।

मोरङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचारप्रसार निषेध अवधि (मौन अवधि) आज राति १२ बजेदेखि सुरु भएको छ। मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतदान सम्पन्न नहुन्जेलसम्म यो अवधि लागू हुने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरका अनुसार मौन अवधिको मुख्य उद्देश्य मतदातालाई दबाब, प्रलोभन र प्रचारको प्रभावबाट मुक्त राख्दै स्वतन्त्र रूपमा विवेकपूर्ण निर्णय लिन वातावरण तयार गर्नु हो।

यस अवधिमा कुनै पनि किसिमको चुनावी सभा, जुलुस, प्रचारप्रसार, राजनीतिक विज्ञापन, सामाजिक सञ्जालमार्फत सन्देश प्रसारण, एसएमएस, टक शो, टिप्पणी, विश्लेषणलगायत गतिविधि गर्न पाइँदैन। मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका प्रचार सामग्री हटाउनुपर्ने व्यवस्था समेत गरिएको छ।

आयोगले मौन अवधिमा आचारसंहिता पूर्ण रूपमा पालना गर्न सबै राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र आम नागरिकलाई आग्रह गरेको छ। मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिबाट टाढा रहँदै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै पक्षको भूमिका महत्वपूर्ण रहने आयोगको भनाइ छ।

मतदाता शिक्षा, तथ्यमा आधारित सूचना र जिम्मेवार सञ्चारले सशक्त लोकतन्त्र निर्माणमा सहयोग गर्ने आयोगले जनाएको छ।