

कोशी आवाज २०८२ भदौ १८ गते बुधबार ।
मोरङ,रङ्गेली । मोरङको सुनवर्षी नगरपालिका–९ भेरुवाथान उत्तरतर्फ करिब १ किलोमिटर दूरीमा प्रहरीले ठूलो मात्रामा लागूऔषध बरामद गरेको छ।
भारत नम्बर प्लेट BR 11 V6 734 भएको मोटरसाइकलसहित प्रहरीले TRAMADOL क्याप्सुल १७,९४० थान (१,७९४ पत्ता) बरामद गरेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।
बरामद कार्यको क्रममा प्रहरी सहायक हवलदार धर्मध्वोज कार्की र सहायक हवलदार किरण अधिकारीले पछ्याउने क्रममा दुबै मोटरसाइकल ठोक्किँदा धानवारीमा लडेर दाहिने खुट्टामा चोट लागेको र उनीहरूको मोबाईल फोन पानिमा खसेको प्रहरीले जानकारी दिएको छ।
लागूऔषध बोकी ल्याउने व्यक्तिहरु भने अन्धकारको मौका छोपेर फरार भएका छन्। बरामद गरिएको लागूऔषध र मोटरसाइकललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेली ल्याइएको छ भने घाइते प्रहरी कर्मचारीहरुलाई उपचारका लागि रंगेली अस्पताल पठाइएको छ।
इलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख प्रहरी निरीक्षक नरेन्द्र बोगटीका अनुसार घाइते प्रहरीहरूको अवस्था सामान्य रहेको छ भने फरार व्यक्तिहरु खोजी कार्य जारी छ।