ग्रिनपिस सुपर लिगमा भोल्ट्स र टाइटन्सको प्रभावशाली जीत ।

ग्रिनपिस सुपर लिगमा भोल्ट्स र टाइटन्सको प्रभावशाली जीत ।

कोशी आवाज २०८२ फागुन ४ गते सोमबार ।

विराटनगर । ग्रिनपिस स्कुलको आयोजनामा विराटनगरमा जारी ‘ग्रिनपिस सुपर लिग’ अन्तर्गत सम्पन्न दुई खेलमा भोल्ट्स र टाइटन्स विजयी भएका छन्। दुवै टोलीले सन्तुलित ब्याटिङ र प्रभावशाली बलिङ प्रदर्शन गर्दै प्रतिस्पर्धीमाथि स्पष्ट अन्तरको जित निकालेका हुन्।

भोल्ट्सको २८ रनको जीत

पहिलो खेलमा भोल्ट्सले वारियर्सलाई २८ रनले पराजित गर्‍यो। टस जितेर पहिले ब्याटिङ रोजेको भोल्ट्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १५८ रन जोड्यो। टोलीका महमद अफतावले ४९ रनको महत्वपूर्ण योगदान दिए भने मुर्सिद मन्सुरले २४ रन थपे। वारियर्सका महमद जाहिद र सलमान रैनले समान ३–३ विकेट लिए पनि लक्ष्य नियन्त्रणमा राख्न सकेनन्।

१५९ रनको लक्ष्य पछ्याएको वारियर्सले पूरा ओभर खेले पनि ९ विकेट गुमाउँदै १३० रनमै सीमित रह्यो। अब्बु अन्सारीले ३७ रन बनाए भने महमद जाहिदले १९ रन जोडे। भोल्ट्सका महमद पिदा हुसैनले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि उनी खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए।

टाइटन्सको एकतर्फी जीत

दोस्रो खेलमा टाइटन्सले लायन्समाथि ६६ रनको एकतर्फी जित हात पार्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको टाइटन्सले १८ ओभरमा ६ विकेट गुमाएर ११६ रन बनायो। रहमद हुसैनले ३० रन बनाएर इनिङ सम्हाले भने इफ्रिदि मियाले २४ रनको योगदान दिए। लायन्सका महमद सवादुल र महमद समिमले समान २–२ विकेट लिए।

११७ रनको लक्ष्यसहित मैदान उत्रिएको लायन्स १३ ओभरमै अलआउट हुँदै ६० रनमा समेटियो। अल्ताफ शेखले १५ रन र सादिक आलमले १९ रन बनाए पनि टोलीलाई जिततर्फ डोहोर्‍याउन सकेनन्। टाइटन्सका मिराज शेखले ३ विकेट लिए भने रहमद हुसैनले २ विकेट हात पार्दै टोलीको जित सुनिश्चित गरे।

प्रतियोगितामा लगातार प्रतिस्पर्धात्मक खेल देखिन थालेसँगै दर्शकको उत्साहसमेत बढ्दै गएको आयोजकले जनाएको छ।