रङ्गेलीमा विपद् प्रतिकार्य स्वयंसेवक तालिम तथा सचेतनामूलक कक्षा भव्यताको साथ सम्पन्न ।
कोशी आवाज २०८३ असार १० गते बुधबार ।
विराटनगर । समुदायस्तरमा विपद् व्यवस्थापन तथा प्रतिकार्य क्षमतालाई सुदृढ बनाउने उद्देश्यले रङ्गेली नगरपालिका–४ स्थित वडा कार्यालय भवनमा विपद् प्रतिकार्यमा खटिने स्वयंसेवक समूह निर्माणसम्बन्धी तालिम तथा सचेतनामूलक कक्षा सञ्चालन गरिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीको आयोजनामा तथा कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रम स्थानीय तहमा कार्यरत नगर प्रहरी तथा स्थानीय नागरिकलाई लक्षित गरी आयोजना गरिएको हो।
कार्यक्रमको उद्घाटन रङ्गेली नगरपालिकाकी कार्यवाहक नगर प्रमुख भूमा पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा रङ्गेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप साह, वडा नं. ४ का वडा अध्यक्ष अवधेश कुमार मण्डल, सशस्त्र प्रहरी बल नेपाल बीओपी रङ्गेलीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सन्तोष प्रसाद देवकोटा लगायतको उपस्थिति रहेको थियो।
तालिममा रङ्गेली नगरपालिका, सुनवर्षी नगरपालिका, रतुवामाई नगरपालिका तथा धनपालथान गाउँपालिकाका सहभागीहरू रहेका छन्। कार्यक्रममा १५ जना नगर प्रहरी, ५ जना स्थानीय नागरिकसहित २० जना प्रशिक्षार्थी तथा ५ जना प्रशिक्षकको सहभागिता रहेको आयोजकले जनाएको छ।
विपद्का बेला समुदायस्तरमै उद्धार, राहत तथा प्राथमिक प्रतिकार्यमा दक्ष स्वयंसेवक परिचालन गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमले सहभागीहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
तालिम तथा सचेतनामूलक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको जनाइएको छ।