आगलागी नियन्त्रणमा खटिने नगर प्रहरीलाई प्रत्येक घटनामा रु. १० हजार प्रोत्साहन ।
कोशी आवाज २०८३ असार १० गते बुधबार ।
बिराटनगर । रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप साह ले आगलागी नियन्त्रणमा दमकल सेवाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्।
दमकल सेवाबारे जानकारी दिँदै उनले आगलागीका घटनामा ज्यानको जोखिम मोलेर खटिने नगर प्रहरीको साहस, समर्पण र कर्तव्यनिष्ठाको उच्च प्रशंसा गरे। नगरवासीको धनजनको सुरक्षा र आगलागी नियन्त्रणमा नगर प्रहरीहरूले देखाएको सक्रियता प्रेरणादायी रहेको उनको भनाइ थियो।
नगर प्रहरीको मनोबल बढाउन र उनीहरूको योगदानको सम्मानस्वरूप रंगेली नगरपालिकाले आगलागी नियन्त्रणमा सफलतापूर्वक खटिने नगर प्रहरी टोलीलाई प्रत्येक आगलागी घटनामा रु. १० हजार प्रोत्साहन रकम प्रदान गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत साहले जानकारी दिए।
उनले विपद्का बेला अग्रपंक्तिमा रहेर काम गर्ने नगर प्रहरी र दमकलकर्मीको हौसला बढाउन यस्ता प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइने समेत बताए। साथै आगलागी लगायतका विपद् व्यवस्थापनमा सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उनको जोड थियो।