ड्युटी छाडेर मापसे गरेपछि मदन भण्डारी अस्पतालका दुई कर्मचारी निलम्बन
कोशी आवाज
३ जेठ/ उर्लाबारी

उर्लाबारी वडा नम्बर ३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका दुई कर्मचारीलाई ड्युटी समयमा मद्यपान गरेको आरोपमा निलम्बन गरिएको छ।

गत बिहीबार राती ड्युटीमा उपस्थित हुनुपर्नेमा उनीहरू ड्युटीमा नआई मादक पदार्थ सेवन गरिरहेको अवस्थामा स्थानीय युवाले फेला पारेका थिए। ती दुईमध्ये एक जना कार्यालय सहयोगी र अर्का पारा–मेडिक्स रहेको बताइएको छ।

उनीहरुलाई स्थानीयले नियन्त्रणमा लिएर अस्पताल प्रशासनलाई जिम्मा लगाएका थिए। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रवि कुमार शाहकाअनुसार दुबै कर्मचारीमाथि विभागीय कारबाही सुरु गरिएको छ। हाल उनीहरुको तलव,भत्तासहितका सम्पुर्ण सेवा सुविधा कट्टा गरि निलम्बन गरिएको उनले बताए । यस्तै उनले व्यवस्थापन समितिको बैठकपछि उनीहरुलाई थप कारबाहीको निर्णय गरिने बताए ।

अस्पतालले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन ।