रास्वपा सांसद मनिष झा : ‘परिवर्तनको महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन ।
कोशी आवाज २०८३ श्रावण २३ गते शनिबार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले परिवर्तनका लागि महान् जनादेश पाएको सरकारमा कोही पनि एक्लो नभएको बताएका छन्।
शुक्रबार राति प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन शाहले सामाजिक सञ्जालमार्फत ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्दै अभिव्यक्ति दिएपछि झाले उनको नाम नलिई आफूहरू साथमा रहेको बताएका हुन्।
प्रधानमन्त्री शाहले सही समय आउन केही ढिला हुन सक्ने भन्दै नआत्तिन आग्रह गरेका थिए। उनले वास्तविकता आफूले सुनेको र देखेकोभन्दा फरक हुन सक्ने तथा कहिलेकाहीँ एक्लै लड्नुपर्ने अवस्था आउने उल्लेख गरेका थिए।
त्यसको जवाफमा सांसद झाले सरकारको नियत र आशयमा आफूहरूको शङ्का नरहेको, तर सुधार गर्नुपर्ने केही पक्ष रहेको बताएका छन्। उनले ऐतिहासिक अवसर खेर जान नदिन आफूहरू निरन्तर सजग र सचेत गराउने भूमिकामा रहने स्पष्ट पारे।
झाले परिवर्तनका लागि प्राप्त जनादेशअनुसार सरकार जनताको साथमा हुनुपर्ने उल्लेख गर्दै आफू सरकारको साथमा रहेको बताएका छन्। उनले भनेका छन्, ‘परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ।’
उनले जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्नेमा जोड दिँदै सरकारको सफलताका लागि आवश्यक सुधारका विषयमा निरन्तर खबरदारी गरिरहने संकेत गरेका छन्।