भोटेकोशी बाढीपछि सरकारको युद्धस्तरीय उद्धार अभियान, ९ हजारभन्दा बढीको उद्धार ।
कोशी आवाज २०८३ भदौ १४ गते आइतबार ।
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि नेपाल सरकारले खोज तथा उद्धार, राहत वितरण, उपचार तथा पुनःस्थापनाको काम युद्धस्तरमा अघि बढाएको जनाएको छ। सरकारका अनुसार विपद्पछि हालसम्म ९ हजार ४३५ जनालाई हवाई तथा स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको छ।
प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २० हजार ६१८ जना सुरक्षाकर्मी खोज तथा उद्धारमा खटिएका छन्। राहत तथा उद्धारका लागि हालसम्म ३९४ उडान सञ्चालन गरिएको जनाइएको छ।
विद्युत् आयोजना क्षेत्रमा फसेकाहरूको उद्धारलाई समेत प्राथमिकतामा राखिएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत २७९ जनाको उद्धार गरिएको छ भने रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट दुई दिनमा २५० जनालाई सुरक्षित स्थानमा ल्याइएको छ।
नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको छ। सुरुङभित्र पहुँच विस्तार गर्न ब्लास्टिङ तथा ठूला उपकरणको प्रयोग गरी उद्धार कार्य जारी रहेको जनाइएको छ।
माथिल्लो त्रिशूली–३ ‘बी’, चिलिमे, लाङटाङ खोला तथा मैलुङ खोला जलविद्युत् आयोजना क्षेत्रमा पनि नेपाली सेना तथा विदेशी विशेषज्ञ टोलीको समन्वयमा खोज तथा उद्धार कार्य भइरहेको छ।
२६७ घाइतेको उद्धार, १५६ जना डिस्चार्ज
बाढी प्रभावित क्षेत्रबाट हालसम्म २६७ जना घाइतेको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये १५६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। प्रभावित क्षेत्रमा उपचार तथा मनोपरामर्शका लागि चिकित्सक टोलीसमेत परिचालन गरिएको छ।
राहत र अस्थायी आश्रयको व्यवस्था
रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ। आइतबार मात्रै ३ हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेका छन्।
नेपाल सरकारका विभिन्न संयन्त्रमार्फत देशभित्र तथा विदेशबाट आर्थिक र मानवीय सहायता संकलन भइरहेको छ। भारत, चीन, अमेरिका, अष्ट्रेलिया, एसियाली विकास बैंक, विश्व बैंक तथा अन्य अन्तर्राष्ट्रिय निकायहरूले आर्थिक, प्राविधिक तथा राहत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
भारतबाट हालसम्म ६८.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको जनाइएको छ। चीनबाट बेलीब्रिज सहयोगका लागि अनुरोध गरिएको छ भने भारतले मोडुलर स्टिल ब्रिजसहित थप बेलीब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
७८१ जनाको शव फेला
सरकारका अनुसार बाढीका कारण ज्यान गुमाएकामध्ये हालसम्म ७८१ जनाको शव फेला परेको छ। पहिचान भएका शव आफन्तलाई बुझाउने र पहिचान हुन नसकेका शवको कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्ने काम भइरहेको छ।
प्रभावित क्षेत्रका अधिकांश स्थानमा सञ्चार सेवा पुनः सञ्चालनमा आएको जनाइएको छ। अवरुद्ध भएका मोबाइल टावरहरू क्रमशः सञ्चालनमा ल्याउने तथा वैकल्पिक सडकमार्फत प्रभावित क्षेत्रसम्म पहुँच विस्तार गर्ने प्रयास जारी रहेको सरकारको भनाइ छ।
सरकारले प्राकृतिक विपद्को यस कठिन घडीमा सम्पूर्ण राज्य संयन्त्रलाई परिचालन गरी प्रभावित नागरिकको जीवनरक्षा, राहत, पुनःस्थापना र पुनर्निर्माणको काम निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएको छ।