भारतको केआईआईटी विश्वविद्यालयमा अर्की नेपाली छात्राको शव फेला

रंगली । भारतको भुवनेश्वरस्थ्जित केआईआईटी विश्वविद्यालयमा अर्की नेपाली विद्यार्थीको शव फेला परेको छ ।

प्रकृति लम्सालको रहस्यमय मृत्युको दुई महिनापछि, बिहीबार अर्की छात्रा होस्टेलको कोठामा मृत फेला परेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

बिटेकमा अध्यनरत छात्रा साँझ होस्टेल कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । सो घटनाको प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको बताइएको छ ।  १८ वर्षीया छात्रा कम्प्युटर विज्ञानमा बीटेक गर्दै पहिलो वर्षमा अध्ययनरत थिइन् ।

 

प्रहरीले यस बारेमा नेपाली दूतावासलाई पहिले नै जानकारी गराएको र सम्भव भएसम्म सबै विवरणहरू दिएको बताएको छ । दिल्लीस्थित दुताबासका प्रतिनिधि आज पुग्न लागेको पनि प्रहरीले जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

 

अहिले सो क्षेत्रलाई बन्द गरेर कसैलाई पनि होस्टेल क्याम्पस भित्र प्रवेश गर्न नदिइएको बताइएको छ । अनुसन्धान भइरहेकोले यो आत्महत्या हो वा हत्या भन्ने कुरा अझै निश्चित नभएको प्रहरीले जनाएको छ । प्रहरीले होस्टेलका कर्मचारी र होस्टेलमा उपस्थित अन्य विद्यार्थीहरूसँग सोधपुछ गरिरहेको छ । साथै छात्राका आमाबाबुलाई पनि घटनाको बारेमा जानकारी गराइएको छ । त्यसैगरी प्रहरीले चौकीमा अस्वाभाविक मृत्युको मुद्दा दर्ता गरिएको बताएको छ ।