पूर्व शिक्षामन्त्री महावीर पुनद्वारा शैक्षिक निर्णय कार्यान्वयन नभएकोमा आक्रोश व्यक्त ।
कोशी आवाज २०८३ वैशाख १५ गते मंगलबार ।
विराटनगर । पूर्व शिक्षामन्त्री तथा आविष्कारक महावीर पुनले आफ्नो कार्यकालमा गरिएका महत्त्वपूर्ण शैक्षिक निर्णयहरू कर्मचारीतन्त्र र सम्बन्धित निकायले कार्यान्वयन नगरेको भन्दै कडा आपत्ति जनाउनुभएको छ। हरेक माध्यमिक विद्यालयमा १०० पूर्णांकको अनिवार्य कम्प्युटर विषय अध्यापन गराउने उद्देश्यले आफूले पाठ्यक्रम विकास केन्द्र, शिक्षा आयोग र अर्थ मन्त्रालयसँग समन्वय गरी आवश्यक खाका र शिक्षक दरबन्दीको व्यवस्था मिलाउन निर्देशन दिए पनि त्यसको पालना नभएको उहाँको गुनासो छ। आफू मन्त्री पदमा रहँदा सुरु भइसकेका यी कामहरू पूरा भएको ठाने पनि वास्तविकतामा केही नभएको थाहा पाएपछि उहाँले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि पोख्नुभएको हो।
अटेरी र लापरवाही गर्ने पक्षहरूलाई अब शिक्षा समितिमा बोलाएर केरकार गरिने चेतावनी दिँदै पुनले अब आफू कम्मर कसेर लाग्ने उद्घोष गर्नुभएको छ। जनताको नोकरको रूपमा आफूलाई प्रस्तुत गर्दै उहाँले शैक्षिक सुधारका यी योजनाहरूलाई निष्कर्षमा पुर्याउन कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ। डिजिटल साक्षरताका लागि अनिवार्य कम्प्युटर शिक्षा लागू गर्ने उहाँको यो अभियानले अहिले सामाजिक सञ्जालमा चर्चा र समर्थन पाइरहेको छ।