साउनदेखि ट्राफिक कारबाहीमा कडाइ जरिवाना ५००० देखि ५० हजारसम्म, असारभर सडक सुरक्षा सचेतना अभियान ।
कोशी आवाज २०८३ असार १२ गते शुक्रबार ।
बिराटनगर । काठमाडौं उपत्यकामा सडक सुरक्षा सम्बन्धी व्यापक सचेतना अभियान सञ्चालन गरिएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न चोक–चोकमा ट्राफिक प्रहरी, स्वयंसेवक तथा विद्यार्थीहरू परिचालन भई चालक र पैदलयात्रीलाई ट्राफिक नियम पालना गर्न आग्रह गरिरहेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गृहमन्त्री सुधन गुरुङ पुनर्बहाली भएपछि उहाँकै निर्देशनमा असार महिनाभर सञ्चालन हुने गरी अभियान सुरु गरिएको हो। अभियानअन्तर्गत घर–घरमा सडक सुरक्षा सम्बन्धी सन्देश पुर्याउने लक्ष्य राखिएको छ।
विशेष अभियानका क्रममा ट्राफिक प्रहरीले गीता एभिएसनसँगको सहकार्यमा एयर होस्टेसहरूलाई समेत सडक सुरक्षा सचेतना कार्यक्रममा परिचालन गरेको छ। साथै, ‘युनिट्री नेपाल’सँगको सहकार्यमा जेब्रा क्रसिङ प्रयोग, ट्राफिक बत्तीको पालना लगायतका विषयमा रोबोटिक प्रविधिमार्फत जनचेतना फैलाउने तयारी भइरहेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार विद्यालय, चलचित्रकर्मी, स्वयंसेवक तथा नागरिक समाजसँग समन्वय गरी अभियानलाई प्रभावकारी बनाइएको छ। उपत्यकाका विद्यालयहरूलाई विद्यालयको मूल गेटमा राख्न मिल्ने गरी सडक सुरक्षा सम्बन्धी २२ बुँदे सचेतनामूलक सामग्रीसमेत उपलब्ध गराइएको छ।
ट्राफिक प्रहरीले गीत, सामाजिक सञ्जाल तथा विभिन्न जनचेतनामूलक कार्यक्रममार्फत पनि सडक सुरक्षा सम्बन्धी सन्देश प्रवाह गरिरहेको जनाएको छ।
यसैबीच, असारभर सचेतना अभियान सञ्चालन गरेपछि साउन महिनादेखि ट्राफिक नियम उल्लङ्घन गर्नेहरूमाथि कडाइका साथ कारबाही गरिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका एसएसपी सुरेश काफ्लेका अनुसार हालको ५०० देखि ५,००० रुपैयाँसम्मको जरिवाना पर्याप्त नभएकाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ संशोधन गरी न्यूनतम ५,००० देखि ५०,००० रुपैयाँसम्म जरिवानाको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ। उनका अनुसार कम जरिवानाका कारण नियम उल्लङ्घन गर्ने प्रवृत्ति बढेकाले कडा कानुनी व्यवस्था आवश्यक भएको हो।
यातायात व्यवस्था विभागले पनि जरिवाना वृद्धि गर्ने प्रावधानसहित ऐन संशोधनको मस्यौदा तयार गरी आवश्यक छलफल अघि बढाइरहेको जनाएको छ।