कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, ९३.८८ प्रतिशत मत प्राप्त ।
कोशी आवाज २०८३ असोज २४ गते शनिबार ।
बिराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा गगनकुमार थापा सभापतिमा विजयी भएका छन्।
थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै सभापति पदमा जित हासिल गरेका हुन्। उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्।
निर्वाचनमा कुल ७ हजार १३ मत खसेको थियो भने ५४ मत बदर भएको थियो। कुल खसेको मतमध्ये थापाले ९३.८८ प्रतिशत मत प्राप्त गर्दा खड्गीले ५.३५ प्रतिशत मत पाएका छन्।
यसअघि कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थापा पार्टीभित्र नेतृत्व परिवर्तन र संगठनात्मक सुधारको अभियानमा सक्रिय थिए। विशेष महाधिवेशनमार्फत नेतृत्वमा आएका थापा १५औँ महाधिवेशनको निर्वाचनबाट सभापतिमा विजयी भएका हुन्।
थापाको जितसँगै नेपाली कांग्रेसको नेतृत्वमा नयाँ अध्याय सुरु भएको छ। अब पार्टीलाई संगठनात्मक रूपमा सुदृढ बनाउने, आन्तरिक एकता कायम गर्ने र जनताको विश्वास बढाउने चुनौती उनको नेतृत्वसामु रहनेछ।