राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मोरङ निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद कृष्णकुमार कार्कीमाथि एक विदेशी युवतीलाई गर्भवती बनाएर सम्पर्कविहीन भएको आरोप लागेको छ।
नाइजेरियन नागरिक २६ वर्षीया रिता अजुकोले आफू गर्भवती भएपछि सांसद कार्की सम्पर्कबाट टाढिएको बताएकी छन्। ठमेल क्षेत्रमा बसोबास गर्दै आएका उनीहरू लिभिङ रिलेसनशिपमा रहेको जनाइएको छ। अजुकोका अनुसार गर्भवती भएको जानकारीपछि उनले गर्भपतन गर्ने कुरा गरेकी थिइन्, तर कार्कीले विभिन्न भावनात्मक सन्देश पठाएर त्यसो नगर्न आग्रह गरेका थिए।
सार्वजनिक भएका म्यासेजहरूमा कार्कीले अजुकोलाई “माई वाइफ”, “माई लाइफ” र “माई लभ” भनेर सम्बोधन गरेको देखिन्छ। साथै, उनीहरू सँगै रहेका भिडियो र तस्वीरहरू पनि बाहिरिएको बताइएको छ। अस्पतालमा समेत पतिको नाममा कृष्ण कार्की उल्लेख गरिएको जनाइएको छ।
अजुकोले अहिले आफू आर्थिक तथा मानसिक समस्यामा परेको गुनासो गरेकी छन्। क्षेत्रपाटी फ्रि क्लिनिकमा उपचार गराइरहेकी उनले आफ्नो र हुने सन्तानको जिम्मेवारी कार्कीले लिनुपर्ने माग गरेकी छन्।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा सांसद कार्कीले आफू बैठकमा रहेको भन्दै विस्तृत प्रतिक्रिया दिन नमिल्ने बताएका छन्।
यस घटनासँगै सांसद कार्की पुनः विवादमा तानिएका छन्। उनी यसअघि पनि विभिन्न राजनीतिक गतिविधि र प्रदर्शनका कारण चर्चामा आएका थिए।