भारत-नेपाल सीमामा ६३० किलो गाँजासहित एक तस्कर पक्राउ

भारत-नेपाल सीमामा ६३० किलो गाँजासहित एक तस्कर पक्राउ

कोशी आवाज २०८३ जेठ ६ गते बुधबार ।

रङ्गेली । भारत-नेपाल सीमा क्षेत्रमा सशस्त्र सीमा बल (SSB) र भारतीय प्रहरीको संयुक्त टोलीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। भारतको बिहार राज्य अन्तर्गत अररिया जिल्लाको सिकटी प्रखण्डमा गरिएको विशेष कारबाहीका क्रममा ६३० किलोग्राम गाँजासहित एक जना तस्कर पक्राउ परेका हुन्।

एसएसबीको ५२औँ वाहिनी ‘डी’ कम्पनी लेटी र सिकटी थाना प्रहरीको संयुक्त टोलीले भारत-नेपाल अन्तर्राष्ट्रिय सीमा स्तम्भ नम्बर १६३ अन्तर्गत भोलानी क्षेत्रबाट करिब १ किलोमिटर भारतीय भूभागभित्र उक्त गाँजा बरामद गरेको हो। पक्राउ पर्नेमा सिकटी थाना क्षेत्रस्थित बौका मजरख गाउँका मोहम्मद मुश्ताक रहेका छन्।

लेटी कम्पनीका इन्स्पेक्टर राजवीर मीणाका अनुसार बिहीबार राति सीमा क्षेत्रबाट ठूलो परिमाणमा गाँजा भारततर्फ तस्करी हुँदै गरेको गोप्य सूचना प्राप्त भएपछि सिकटी थाना अध्यक्ष रोशन कुमार सिंह र इन्स्पेक्टर मीणाको संयुक्त नेतृत्वमा विशेष टोली परिचालन गरिएको थियो।

सुरक्षाकर्मी घटनास्थलमा पुग्दा केही व्यक्तिहरू नेपालतर्फबाट टाउकोमा बोरा बोकेर भारतीय क्षेत्रमा प्रवेश गरिरहेका थिए। प्रहरीलाई देख्नासाथ तस्करहरूले बोरा फालेर भाग्ने प्रयास गरेका थिए। अँध्यारोको फाइदा उठाउँदै अधिकांश तस्कर नेपालतर्फ भाग्न सफल भए पनि सुरक्षाकर्मीले लखेटेर मोहम्मद मुश्ताकलाई पक्राउ गरेको जनाएको छ।

तस्करहरूले छोडेर भागेका २१ वटा प्लास्टिकका बोराहरू जाँच गर्दा कुल ६३० किलोग्राम उच्च गुणस्तरको “मारिजुआना” जातको गाँजा फेला परेको भारतीय प्रहरीले जनाएको छ। फरार अन्य तस्करहरूको खोजी जारी रहेको तथा सीमा क्षेत्रमा निगरानी थप कडा पारिएको सुरक्षा अधिकारीहरूले बताएका छन्।