चेकजाँचका क्रममा ट्राफिक प्रहरीलाई घिसारेर फरार भएका कार चालक पक्राउ ।
कोशी आवाज २०८२ पुष १९ गते शनिबार ।
काठमाडौं । मादक पदार्थ सेवन (मापसे) चेकजाँचका क्रममा ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई घाइते बनाएर फरार भएका कार चालकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–५, गर्दोई निवासी ४६ वर्षीय बासुदेव आचार्य रहेका छन्।
प्रहरीका अनुसार बिहीबार राति करिब पौने ८ बजे हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित सडकमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको टोलीले नियमित मापसे चेकजाँच गरिरहेको थियो। सो क्रममा ट्राफिक प्रहरीले ब्रेथलाइजर मेसिन प्रयोग गरी जाँच गर्न खोज्दा चालक आचार्यले एक्कासी कारको सिसा बन्द गरी गाडी भगाएका थिए।
गाडी चलाउँदा ब्रेथलाइजरसहित ड्युटीमा रहेका एक प्रहरी जवान कारमा अड्किएर करिब १० मिटर घिसारिँदा गम्भीर घाइते भएका थिए। घटनापछि चालक फरार भएका थिए।
फरार कारको खोजीका क्रममा प्रहरीले शुक्रबार चितवनको भरतपुरबाट बा ६ च ८४०९ नम्बरको कार फेला पारेको थियो। सोही स्थानबाट चालक आचार्यलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चालक र कारलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई थप अनुसन्धान भइरहेको छ।