कानेपोखरीको राजनीतिमा नयाँ तरंग : विभिन्न दलका नेता तथा युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित ।
कोशी आवाज २०८३ बैशाख २५ गते शुक्रबार ।
बिराटनगर । मोरङको कानेपोखरी गाउँपालिका मा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको विशेष भेलामा विभिन्न राजनीतिक दलका नेता, जिम्मेवार पदाधिकारी तथा स्वतन्त्र युवाहरू औपचारिक रूपमा पार्टीमा समाहित भएका छन्।

कार्यक्रममा सहभागीहरूले देशमा वैकल्पिक राजनीति, सुशासन, पारदर्शिता र युवाको नेतृत्व आवश्यक रहेको निष्कर्षसहित राष्ट्रिय स्वतन्त्र पार्टी रोजेको बताएका छन्।
आज पार्टीमा समाहित हुनेहरूमा नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि दिपक राई, नेकपाका स्थानीय नेता चुडामणि भारती, राष्ट्रिय उर्जाशिल पार्टीका केन्द्रीय सदस्य श्याम राजबंशी, नेकपाका रमेश राजबंशी र बिशेस्वर राजबंशी रहेका छन्।
त्यस्तै स्वतन्त्र रूपमा सक्रिय युवा अभियन्ता बिटु राई, उज्वल गुरुङ, प्रेम तामाङ र मिथुन बारोई पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।
यसैगरी मनोज राजबंशीले पनि पार्टी प्रवेश गरेका छन्। उनी यसअघि नेकपा माओवादी, नेकपा तथा राष्ट्रिय उर्जाशिल पार्टीमा विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका व्यक्ति हुन्। उनले पूर्व अध्यक्ष, पूर्व सचिव, संस्थापक केन्द्रीय सदस्य तथा क्षेत्र नं–२ का पूर्व उम्मेदवारको भूमिकासमेत निर्वाह गरिसकेका छन्।
पार्टी प्रवेश कार्यक्रमलाई कानेपोखरीको राजनीतिमा नयाँ शक्ति सन्तुलनको संकेतका रूपमा हेरिएको छ। स्थानीय तहमा युवा पुस्ता र वैकल्पिक राजनीतिक सोचप्रति आकर्षण बढ्दै गएको सहभागीहरूको भनाइ छ।
कार्यक्रममा नवप्रवेशीहरूले जनताको पक्षमा स्पष्ट, जिम्मेवार र परिणाममुखी राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।